कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैयाको निधन

रासस

काठमाडाैं

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ। लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो। 

उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति थिइन्। उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए। “विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो”, उनले भने, “उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ।”
 
कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो। उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो।

उनको अवस्था सुधार नभएपछि उनलाई घरमै राखिएको थियो। त्यही क्रममा आज उनको निधन भएको बुहारी आशा पुनमगरले बताइन्। अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेकी छन्।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो। उनका दुई छोरीको विवाह भइसकेको छ। घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएकी थिइन्।

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन्।
 

प्रकाशित मिति: : 2020-01-26 09:58:02

प्रतिकृया दिनुहोस्