कँवरथुवाद्धारा माघशुक्ल पञ्चमीको दिन शिवलिङमाथि जलाभिषेक

माघशुक्ल पञ्चमीको दिनलाई बसन्त पञ्चमी, वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वतीपूजाको रुपमा मनाउने परम्परा छ। यद्धपि सो तिथिको दिन शिवलिङ माथि जलाभिषेक गरिने परम्परा तराईका अधिकांश भेगमा विद्यमान छ।

माघे औंशीको दिन गंगाजी अथवा अन्य पवित्र जलाशयबाट जल भरेर आफूलायक पायक पर्ने कुनै पनि शिव मन्दिरमा माघशुक्ल पञ्चमीको दिन शिवलिङ माथि जलाभिषेक गर्ने गरिन्छ। पवित्र जलाशयबाट जल भरेको दिनदेखि पैदल हिडेर भक्तहरु पूर्ण ब्रह्मचर्य तथा पवित्रताका साथ शिव मन्दिरमा पुग्ने गर्दछन।

यस्ता भक्तलाई कँवरथुवा, जलबोझी, बोलबम जस्ता नामले चिनिन्छ। भक्तहरु आफूखुशी एक्लै हिड्दैनन्। यसका लागि थुप्रै गाउँका भक्तको संगठन बनेको हुन्छ, जसलाई ‘काफ्ला’ भनिन्छ। खास भन्ने हो भने काफ्ला अरबिक भाषाको काफिला शब्दको अप्रभंस हो कि जस्तो लाग्दछ। काफिला शब्दको अर्थ एकताँतीमा हिड्ने जनसमुह हुन्छ। काफ्लामा काँवर काँधमाथि बोकेर लहरै हिडने जनसमूहको ताँती हुन्छ।

यिनीहरु जल बोकेर वा भर्न जान लागेको बेला बाटामा ‘बोलबम’को नारा लगाउदै जान्छन। यस क्रममा यिनीहरुलाइ बाटोमा हिडिरहेको देखेर अन्य मानिसले बोलबम भनेपछि जवाफमा कांधमा काँवर बोकी हिडिरहेका कँवरथुवाहरु पनि समवेत स्वरमा बोलबमको आवाज निकाल्दछन्। 

काफ्लाका आफ्नै नियम हुन्छन्। जसको पालन कँवरथुवाले दृढतापूर्वक गर्ने गर्दछन्। काफ्लाको बैठकमा जल भर्न र जलापर्ण गर्न कहाँ जाने भन्ने कुराको निर्णय हुन्छ। यस बैठकमा सो काफ्लाको नेतृत्व गर्नको लागि एक जना भक्तलाई ‘जिमदार’को रुपमा चयन गरिएकाे हुन्छ।

त्यस्तै केही सिपाहीको, खजाञ्चीको, मुख्य पुरोहितको, विचारीको तथा अन्य पदाधिकारीको चयन हुन्छ। जिमदार सम्पूर्ण काफ्लाको एक किसिमले मालिक हुन्छ, जसले काफ्लाको नेतृत्व गर्दछ। सिपाही काफ्लाको खटनपटनमा लागेको हुन्छ।

 खजाञ्चीको जिम्मा काफ्लाको कोष रहन्छ तथा विचारीले काफ्लाका सदस्यले जानीनजानी गरेको नियमभङको उचित दण्ड विचार गर्दछ। दण्ड विधान कठोर हुन्छ। दण्ड भौतिक तथा आर्थिक दुबै रुपमा हुन्छ। भौतिक दण्डमा कान समातेर उठबस गर्नु, सम्पूर्ण भक्तजनलाई सामुहिक ढोग नमस्कार गर्नु, जाडोको समयमा चिसो पानीले स्नान गराउनु जस्ता दण्ड भौतिक दण्डमा पर्दछन् तथा नगद वा जिन्सी दण्ड आर्थिक दण्डमा पर्दछन्।

निश्चित दिशा बाहेककाे स्थानमा दिसापिसाप गर्नु, तोकिएको समयभन्दा अघिपछि खानु पिउनु, समयमा एकैसाथ न हिड्नु, कसैसित कुवाच्य वा दुर्वाच्य बोल्नु अथवा कुनै पनि किसिमको निषेधित कृयाकलाप गर्नु काफ्लाका प्रमुख अपराध हुन। जसकाे लागि कँवरथुवा दण्डको भागी हुनु पर्दछ। 

बोलबममा पहिलोपल्ट जाने वा भाकल गरेका भक्तको घरमा ‘काँवरविटोर’ हुन्छ। काँवरविटोरमा निर्धारित गाउँका कँवरथुवा निश्चित दिनमा भक्तको घरमा काँवरसहित भेला हुनु पर्दछ। कँवरथुवाको यस प्रकार भएको भेलालाई शिवजीको बरियात भनिन्छ।

यस बरियातमा कोर्‍हिया, लुला–लङडा, असहाय तथा तल्लो हैसियतका मानिसको घुइँचो लाग्दछ। यिनीलाई शिवजीको गणको रुपमा आदर सत्कार, पूजन गरेर भोजन गराइ सन्तुष्ट पार्न अनिवार्य हुन्छ। अन्यथा त्यस्तो विटोर असफल हुन्छ। विटोर भएको ठाउँमा रात्रीकालीन शिवोपासना, विधिअनुसार पूजा अर्चना तथा भजन कीर्तन हुन्छ। शिवजीको धूनी बालिन्छ तथा रात्री विश्राम हुन्छ। अर्को दिन बिहान सवेरै उठेर कँवरथुवाले नित्यकर्म गरेर फेरि शिवार्चन, भजनकीर्तन गर्दछन्। शिवजीका बरियाती तथा गणलाई भोजन गराइन्छ तथा दान दक्षिणा दिएर बरियातको विदाइ गरिन्छ। प्रायः गेरुरङको लुगा लगाएर कँवरथुवा काँवर बोकी बोलबमको नारा लगाउदै लहरै हिड्दछन्, अर्को विटोरस्थलको गन्तव्यतिर अथवा जल भर्नको लागि पवित्र जलाशयतिर।

यस प्रकारले हिडदै जाँदा बास बस्ने ठाउँमा काँवर बिसाएर शिवार्चन तथा भजनकीर्तन गर्ने काम जारी रहन्छ। रात्रीको भोजन पछि प्रत्येक विश्रामस्थलमा शिवजीको दरबार लाग्दछ, जहाँ पदाधिकारी आफ्नो काफ्लाको दिनभरिको क्रियाकलापको समीक्षा,अर्को दिनको योजना, काफ्लामा सामेल रहेका कँवरथुवाको स्वास्थ्य तथा खर्चवर्चको बारेमा विचार गर्दछन्। बेखर्ची कँवरथुवालाई जिमदारले उदारतापूर्वक कोषबाट आर्थिक सहयोग गर्दछन्।

माघ महिनाको समय, सिरिरिरी चल्ने सिरेटो, भयानक शीतलहर, बिहान बेलुकाको स्नान, समय प्रतिकूल रहे पनि आपसी सौहाद्र्रता, धार्मिक जोश तथा पर्यटकीय भावनाको कारण वर्षभरिको लागि कृषि काम सकाएका किसान कँवरथुवाको रुपमा शिवजीको भक्ति तथा जलापर्ण गर्ने उद्धेश्य लिएर हिडिरहेका हुन्छन्।

शिवजीले भन्नु भएको छ–प्रीयेय तोयेन नृणां प्रपद्यतामहो त्वयाऽऽत्मा भृशमर्धते वृथा। (श्रीमद्भागवत, स्क. १०, अ.३८, श्लोक २०) अर्थात् म आफ्नो भक्तद्वारा जलचढाउन मात्रले पनि सन्तुष्ट भएर प्रसन्न भई हाल्दछु। विनासित्ति आफ्नो शरीरलाइ कष्ट न देउ। 

शिवजीको यस प्रकारको वचन बारेमा न जानेका भक्त अन्धभक्तिको रुपमा शरीरलाइ नाना कष्ट दिएर पनि भक्तिमार्गमा तत्परताका साथ अग्रसर रहन्छन्। यस्ता भक्तहरुलाई यस पंक्तिकारको–बोलेबम,बोलबम..।
    

प्रकाशित मिति: : 2020-01-30 20:12:00

प्रतिकृया दिनुहोस्