आयोवा ककसमा चौकुने प्रतिस्पर्धा: कसले खोल्ला जीतको खाता ?

प्रदीप भट्टराई

डिमोइन्स, आयोवा ।

फेब्रुअरी ३, आइतबार । स्थानीय समय अनुसार रातको ८ बजेको छ। यो अमेरिकी सेन्ट्रल टाइम हो। यतिबेला नेपालमा विहानको सात बजेर ४५ मिनेट गएको हुन्छ।

अहिले म मध्यपश्चिम अमेरिकाको आयोवा राज्यको राजधानी डिमोइन्स आइपुगेको छु। अरू बेला खासै चर्चामा नआउने यो सहर हरेक चार वर्षको फेब्रुअरी पहिलो आइतबार भने सबै अमेरिकीको ध्यान केन्द्रीत गर्ने थतागत राख्छ। 

आजको आइतबार हरेक चार वर्षमा आयोवामा आउने त्यस्तै विशेष आइतबार हो। यही दिन अमेरिकामा डेमोक्रेटिक पार्टीको पहिलो प्राइमरी ककस हुन्छ। र, यो दिन खासगरी अमेरिकी डेमोक्रेटहरूको क्यालेण्डरमा खास महत्वको दिनका रूपमा अंकित हुन्छ।

म हिजो मात्र छिमेकी राज्य मिजौरीको कान्सास सिटीमा यस वर्षको सुपर बल बिजेता चिफको रेड किङ्डममा रातै मुडमा रंगिन पुगेको थिएँ। जीवन श्याम/श्वेत भए पनि अनेक रंगमा रंगिएर रंगीन हुने रहर जो कोहीलाई पनि हुँदोरहेछ । म मात्र कसरी अपवाद हुन सक्थे र ? रोम पुगेपछि रोमनजस्तै बन भनेझै म पनि अमेरिकी रंगमा रंगिने प्रयत्न गरिरहेको छु।

त्यही क्रममा छिमेकी राज्य आयोवाको डेमोक्रेटिक ककसलाई नछुटाउँ भन्ने लोभले म यहाँ आइपुगेको हुँ।

यी पंक्तिहरू लेखिरहदा आइवा ककसका लागि मतदान कक्षका ढोका बन्द भैसकेका छन्। 

आइवा ककस डेमोक्रेटिक प्राइमरीको श्रीगणेश हो। आज यहाँ डेमोक्रेटिक पार्टीका सदस्यहरूले राष्ट्रपति उम्मेद्वारका आकांक्षीहरूलाई मतदान गरेका छन्। उनीहरूको मतको आधारमा कसले कति स्टेट डेलिगेट प्राप्त गर्ने हुन्?, त्यसको पेण्डोरा बाकस खोलिने छ।

आइवा ककस डेमोक्रेटिक प्राइमरीको लिटमस टेस्टका रूपमा लिने चलन छ। यसले कसलाई पहिलो गाँसामा दुध भात दिने हो वा ढुंगा दिने हो ? त्यसको संकेते गर्छ। 

यसपटक आयोवा नीलो हुने क्रममा छ भनेर राजनीतिक पण्डितहरू भविष्यवाणी गरिरहेका छन्। तर, त्यसमा उनीहरूको एउटा शर्त पनि छ; त्यो के भने त्यसो हुने एउटा आधार डेमोक्रेटिक पार्टीले कसलाई उम्मेद्वार बनाउँछ भन्ने पनि हो।

यस वर्ष डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका आकांक्षीको ठूलो भीँड लागेको थियो। त्यो भींड पातलिदै गएर अहिले केही सीमित उम्मेद्वारको नाममा टाक्सिएको छ। यद्यपि, अझै पनि केही उम्मेद्वारले बाहेकले औपचारिक रूपमा चुनावी दौड रोकिएको घोषणा गरेका छैनन। 

यहाँको आजको माहौल हेर्दा आयोवा ककस मूलत: बर्नी स्याण्डर्स, पिट् बुटजज, जो बाइडेन र एलिजावेथ वारेन बीचको चौकुने प्रतिस्पर्धामा केन्द्रीत भएजस्तो देखिएको छ। तर, सुक्ष्म रूपमा हेर्दा सिनेटर एमी क्लाउबुचरले मजैले पाँचकुनै प्रतिस्पर्धा बनाएजस्तो देखिन्छ। 

७ इलेक्ट्रोल मत रहेको आयोवालाई स्विङ राज्यका रूपमा लिने गरिन्छ। कहिले यो रातो हुन्छ, कहिले नीलो। सधैं पर्पल रंगमा रहेको यो राज्य सन् २०१६ मा ट्रम्पतिर स्विङ भएर रातो भएको थियो।

यसपटक आयोवा नीलो हुने क्रममा छ भनेर राजनीतिक पण्डितहरू भविष्यवाणी गरिरहेका छन्। तर, त्यसमा उनीहरूको एउटा शर्त पनि छ; त्यो के भने त्यसो हुने एउटा आधार डेमोक्रेटिक पार्टीले कसलाई उम्मेद्वार बनाउँछ भन्ने पनि हो।

अबको केही घण्टापछि आयोवा डेमोक्रेटिक ककसको परिणाम आउँने बताइएको छ। यतिबेला त्यसैको प्रतिक्षामा डिमोइन्स छ नै, सिंगो अमेरिका पनि त्यही परिणाम पर्खरहेको छ। 

प्रकाशित मिति: : 2020-02-04 20:39:20

प्रतिकृया दिनुहोस्