नेपाललाई आठौं सफलता, करणले लिए विकेट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रूपमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपाललाई आठौं सफलता हात पारिसकेको छ।

नेपालका लागि आठौं विकेट करण केसीले लिएका हुन्। उनले नाशेम खुशीलाई शरद भेषवाकरको हातबाट क्याच गराए।

नेपालका लागि सातौं विकेट दिपेन्द्रसिंह ऐरीले लिएका थिए। उनले ५ रन बनाएर खेलिरहेका बादल सिंहलाई रोहित पौडेलबाट क्याच आउट गराए।

नेपालका लागि छैठौं विकेट शुसन भारीले लिएका थिए।

उनले ओमानका सन्दीप गाैढलाई आउट बनाए। ७२ बलमा ३३ रन बनाएर खेलिरहेका सन्दीपलाई शुसनले बोल्ड गराएका हुन्।

१९ औं ओभरमा पनि शुसनले २ विकेट लिएका थिए।

यही प्रतियोगिताबाट डेब्यू गरेका भारीले १९ औं ओभरको चौथो बलमा २० रन बनाएर खेलिरहेका जिसान माक्सुदलाई एलबिडब्लुको धरापमा पार्दै डेब्यू विकेट लिए।

त्यसपछि सोही ओभरको अन्तिम बलमा सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए।

यसअघि करण केसीले २ विकेट लिएका थिए। उनले आफ्नो पहिलो ओभरको अन्तिम बलमा ओमानका जितेन्दर सिंहलाई बोल्ड आउट  गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

यस्तै सातौ ओभरको चौथो बलमा खावार अलिलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए।

अलिले १५ बल खेलेर १ चौकासहित ५ रन बनाएका थिए।

यस्तै नेपालले तेस्रो विकेट रन आउटबाट लियो। जसमा दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटमा १६ रन बनाएर खेलिरहेका आकुब इलियस आउट भएका थिए।

कसिलो बलिङ गरिरहेको नेपाली बलरसामू ओमानले खुलेर खेल्न सकिरहेको छैन। अहिले उसले ४३ ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित मिति: : 2020-02-06 01:14:06

प्रतिकृया दिनुहोस्