हामी दलित के ‘सहायक’ पत्रकार मात्र हाैं ?

मैले सबैभन्दा पहिले खरीपाटीमा लेख्न सिकेको अक्षर ‘क’ हो। हुन त सबैले सिक्ने यही हो। संयोग नै भनौं त्यो दिन सरस्वती पूजा रहेछ। ‘क’ देखि ‘ज्ञ’, एबिसिडी र एक देखि सयसम्म कण्ठस्थ पार्नु मेरो पहिलो शैक्षिक उपाधि थियो। बाले मलाई बारम्बार घोकाइरहने अक्षर ‘द’ र ‘स’ थियो। म शब्दमा अड्किन्थे। यससँगै बासँगको बाल्यकालको स्मृति पनि जोडिएको छ। 

आज यी दुई अक्षर केही लाग्दैन। तर यी अक्षर सधै खड्किरहने छन्। पढ्दै जाँदा  ‘द’ र ‘स’ बाट बनेका वाक्य ‘दलित’ र ‘सहायक’ शब्दले छुन थाले। परीक्षामा वाक्य प्रयोग गर भनेको ठाउँमा ‘दलित’ समाजका ‘सहायक’ नागरिक होइनन् लेखिदिन्थे। उसो त समाजमा विद्यामान थिचोमिचो, भेदभाव, विभेदका थुप्रै श्रृंखलाको साक्षत्कार हामी आफै छौं। समाजमा ‘अछुत’ भनिने कथित ‘दलित’को कोखबाट मेरो जन्म भयो। मैले जाने अनुसार ‘दलित’ शब्द व्यक्तिले गर्ने कर्मको आधारमा  गरिएको वर्गिकरण वा उपाधि हो। जुत्ता  सिलाउने सार्की, लुगा सिउने दमाई, फलाम पिट्ने कामी र सांरगी रेट्ने गन्दर्भका कर्मसँग सम्बन्धित छन्। 

तत्कालिन समयमा हुकुमी तहमा रहेका जजमानी गर्ने बाहुन, शासन केन्द्रमा रहेका शाही, ठकुरी र क्षेत्री त्यसैका निरन्तरताका स्वरुप मात्रै त हुन्। तर उनीहरु छुत। कथित दलित  अछुत। यो कस्तो वर्ग विभेद, असमानता अनि असामाजिकता।

समाजमा अहिले पनि खलो वा लगीमानी (बालीघरे) प्रथा चलिरहेको छ। यो प्रथामा कुचलन कथित दलित, गैर दलित भनिनेको घरको सम्पूर्ण काम गर्छन्। काम गरे बापत् अन्नमा, जहुँ, गहुँ,धान कोदो आदी पाउँथे र पाउछन्। हाम्रो बस्तीमा उति बेला प्रजातन्त्र प्राप्ति पछिको पहिलो दशकमा कक्षा नौ सम्म पढेका मेरा बा मात्रै थिए। पछि पढाइलाई निरन्तरता दिन सकेनन्। अन्तत् उनी पनि पुर्ख्यौली पेसामा लागे। म सानो हुँदा मेरा बा साहुँको घरमा लैजान्थे। हामीलाई खाना आँगन मै दिइन्थ्यो। मैले र बाले खाएको थाल राम्ररी सुके पछि मात्रै भित्र लगिन्थ्याे। धारामा पानी लिन गयो यस्तै हुने। गैरदलित समुदायका बालसखादेखि बृद्धबृद्धाले समेत ‘न छो न छो भन्ने’। समाजको यो व्यवहारले हामीलाई ‘क्रान्तिकारी’ बन्न सिकायो। पछि बुझ्दै जाँदा त्यो विभेद हो भन्ने महशुस हुन थाल्यो।  

धारामा जाँदा बारम्बार यही व्यवहार दोहोरिन थाल्यो। मैले धेरै पटक गांग्री र ग्यालेन फुटाई दिएको छु। त्यो मेरो रहर थिएन। बाध्यता थियो। त्यस्तो विभेद, छुवाछुत देख्दा आफू सधै दोस्रो दर्जाको नागरिक भएको अनुभूति हुने। बाले दोहोर्‍याएर सिकाएको ‘द’ बाट आउने दलित शब्दले बारम्बार पोलिरहयो।

पछि माध्यमिक तहमा गएपछि भने कक्षामा  समूह नेता भए। कक्षामा क्याप्टेन र समूहमा उनीहरु (गैरदलित) समुदायका  विद्यार्थीको ‘नेता’का रुपमा काम गर्दा त्यस्ता कयौं अप्ठाराको भुक्तभोगी आफै हुँ। जसरी पनि आफू  माथि नै हुनु पर्छ भन्ने घमण्ड कथित माथिल्लो जातिका मान्छेमा छ भने कथित तल्लो जातिका बालकदेखि बृद्धसम्म अलि कमजोर मनोबल देखिन्छ। यो जातीयभन्दा पनि वंशाणुगत गुणको समस्या हो। सामाजिक संरचनाले ल्याएको समस्या हो।  अप्ठ्यारा र चुनौतिका बीच लडिरहनु परेको छ। खासमा कथित दलित भनिने हामीलाई समूहदेखि राज्य सञ्चालन तहसम्म निकै चुनौति छ। पितृसत्ता जत्तिकै बलियो जातिवाद पनि छ।  

सानैदेखि साहित्यमा रुचि राख्थे। रेडियो सुन्ने, पाएका पत्रिका पढ्न त्यसैले बल प्रदान गर्‍यो। माध्यमिक तहसम्मको अध्ययन पुरा भयो। मैले भोगेको समाज, विद्यालयका साथी हरेक पात्रमा एक किसिमको हुकुमीपनको छनक भेटाएको छु। जुन कुराको विरोध र गर्ने समाजमा रहेका विद्यामान बेथितिको बारे बोल्ने फोरम खोजिरहेको थिए।

पछि म पत्रकारितामा जोडिन पुगे। सूचनाको सहज पहुँच नभएका ग्रामिण क्षेत्रमा रेडियो नै प्रमुख माध्यम थियो र छ। राज्यको चौथो अंग भनिने क्षेत्रमा पनि विभेद रहेको अहिलेसम्मको अनुभवले भन्छ। पत्रकारिताको सुरुवाती चरणमा आफ्नो भोगाइ बारे केही समय अघि एउटा अनलाइनमा ‘भाई पत्रकारका दुःख’ भन्ने लेखमा उल्लेख गरेको छु। मिडियामा समेत दलित पत्रकारलाई निकै समस्या र चुनौति छ। यो लेख मिडियामा विभेद र सहभागितासँग सम्बन्धित छ।

राम्रै क्षमता भएका पनि ‘सहायक’ भन्दा माथि नजाने समस्या र बाध्यताको पहाडले थिचिरहेकै छ। त्यसैले कहिले काहीँ प्रश्न गर्न मन लाग्छ के हामी ‘सहायक’ पत्रकार हो ?

पत्रकारिताको यो अवधिमा  यात्रामा तीन जिल्लामा बसेर काम गर्ने अवसर मिलेको छ। मेरै गृह जिल्लामा मुस्किलले मुलधारको मिडिया भनिने सञ्चार माध्यममा लेख्ने तीन जना छन्। गैरदलित साथीको बाहुल्यता बढी छ। स्थानीय मिडियामा दलित पत्रकारको संख्या साविकको कर्णालीमा सबैभन्दा बढी जुम्लामा छ। अहिले आठ जना क्रियाशिल छन् भने साठीको दशकमा सक्रिय पत्रकारिता गरेका अहिले पलायन जस्तै छन्। जुम्लामा अहिलेसम्म एक जना दलित मात्रै पत्रकार महासंघको अध्यक्ष भए। 

मैले मुगु जिल्लामा ६ महिना रेडियो पत्रकारिता गरे। त्यहाँ दलित पत्रकार शुन्य प्राय छन्। मुलधारको मिडियामा गैरदलित पत्रकारको बाहुल्यता छ। स्थानीय मिडियामा कम छैन। दुई जना रेडियो पत्रकारितामा  छन्। त्यसमा  पनि एक जना जुम्लाबाट गएका छन् भने मुगुकै एक जना पत्रकार प्रदेश राजधानी  झरेका छन्। हाफ म बाँके जिल्लामा छु। यता पनि हालत उही हो। मुलधारको मिडियामा केही संख्या पत्रकार कार्यरत छन् भने स्थानीय मिडियामा पनि अन्य कर्णालीको भन्दा फरक छैन।

कारण जिल्ला तथा  केन्द्रसम्म राजनीतिक तथा अन्य रुपमा पहुँचको कमि छ भने पलायन यहाँको मुख्य समस्या हो। अहिले कालिकोटमा १३ जना पुरुष र ४ जना महिला क्रियाशिल छन्। जाजरकोटमा मुस्किलले  स्थानीय मिडियामा ५ जना छन्। अन्य जिल्लाको हालतमा पनि फरक छैन । 

मुलधारका मिडियामा दलित पत्रकारले जिम्मेवारी पाउने कुरा आकासको फल जस्तै हो। जिल्लामा रहेर पूर्णकालिन नियुक्ति पाउने पत्रकारको संख्या पनि नगन्य छ। संख्या महत्वपूर्ण होइन। यद्धपि यसले अवस्था दर्शाउँछ। पत्रकारिता विकासको लामो अवधि गुज्रदा पनि दोस्रो दर्जाबाटै नजरमा पर्ने दलित पत्रकार मुस्किलले टिकेका छन्। अपवाद बाहेक।  

दलित पत्रकारको प्रमुख समस्या पलायन हुनु नै। कर्णालीमा पत्रकारिता गरेर लामो समय टिक्न सक्नु फलामको चिउरा चपाउनु सरह हो। राज्य सञ्चालनको गाउँदेखि संसद सम्म दलितको सहभागिता अर्थपूर्ण हुन सकिरहेको छैन। कर्णाली प्रदेशमा समेत त्यो  अवस्था रहेको छ।

कर्णालीका दश जिल्लामा रहेका सबै सञ्चार माध्यममा १० प्रतिशत दलित पत्रकार मुख्य भूमिकामा छैनन्। प्रदेश राजधानी सुर्खेतमा समेत दैनिक १४ वटा दैनिक पत्रिका प्रकाशन हुन्छन्। ती मध्ये एक वटा मात्रै पत्रिकाको नेतृत्वमा दलित छन्। अहिले पनि सरकार, समाज र पत्रकारितामा समेत विभेद र  सहायक भूमिकाको आभास हुन्छ। संख्यात्मक हिसाबले भन्ने हो भने देशभर १३ सय दलित पत्रकार छन्। अहिले विस्तारै संख्याका साथै जिम्मेवारी समेत बढ्दो क्रममा छ।

राज्यको चौथो अंग भनिएका पत्रकारले जबसम्म आफ्नो पनि समान हैसियत भएको महसुस गर्दैन तबसम्म समाज सधै असमान रहन्छ। 

सहकर्मीबाट हुने विभेद, मालिकबाट हुने गरेका श्रम शोषणले पनि दलित पत्रकारितालाई असर गरेको छ। सधै दोस्रो दर्जाको नागरिक सरहको व्यवहार बौद्धिक वर्ग माथि नै छ। जुन कानुनी राज्यको बर्खिलाप हो। अब हाम्रो बौद्धिकता, जाति र वर्ग माथिको विभेद तथा छुवाछुत किमार्थ पनि स्विकार्य छैन। हामी अन्यको कारणले भन्दा पनि आफ्नो क्षमताका कारण एक तह माथि पुग्नुपर्ने कुरामा दुईमत छैन।

अहिलेको अवस्थामा यो नै पर्याप्त होइन। तर हाललाई बौद्धक रुपमा बलियो हुनु नै हो। आउनुहोस् समानता मुलक समाजको कल्पना सहित जाति व्यवस्थाविरुद्ध लागौं।  

                                          

प्रकाशित मिति: : 2020-02-08 22:56:30

प्रतिकृया दिनुहोस्