६ वर्षपछि भारत एकदिवसीय शृंखलामा न्युजिल्याण्डसँग पराजित

एजेन्सी

हेमल्टन

न्युजिल्यान्डले ६ वर्षपछि भारतलाई एकदिवसीय शृंखलामा पराजित गरेको छ। अकल्यान्डको इडन पार्कमा भएको दोस्रो खेल २२ रनले जित्दै घरेलु टोली न्युजिल्यान्डले तीन एकदिवसीय शृंखला एक खेल खेल्न बाँकी रहदै २–० ले आफ्नो पक्षमा पार्यो। 

सन् २०१४ मा भारतलाई ४–० ले हराएयता किवीले एकदिवसीय शृंखला जित्न सकेको थिएन। भारतले पछिल्लो तीन एकदिवसीय शृंखलामा न्युजिल्यान्डलाई पराजित गरेको थियो। 

न्युजिल्यान्ड–भारतबीच तेस्रो खेल ११ फेब्रुअरी माउन्ट मान्गनुईमा हुनेछ। शनिबार सम्पन्न दोस्रो खेलमा भारतले टस जितेर बलिङको निर्णय गरेको थियो। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनायो। 

किवीका लागि मार्टिन गप्टिलले ७९, रोस टेलरले अविजित ७३, हेनरी निकोल्सले ४१, काइल जेमिसनले अविजित २५ र टम ब्लेडेलले २२ रन बनाएका थिए। 

भारतका लागि युजवेन्द्र चहलले ३, शार्दुल ठाकुरले २ र रवीन्द्र जडेजाले १ विकेट लिए। भारत ४८ दशमलव ३ ओभरमा २ सय ५१ रनमा समेटियो। भारतका लागि रवीन्द्र जडेजाले ५५, श्रेयस अय्यरले ५२ र नवदीप सैनीले ४५ रन बनाए। किवीका लागि हामिश बेनेट, टिम साउदी, कोलिन डिग्रेडहोम र काइल जेमिसनले २–२ विकेट बाँडे। जिमी निशमको हातमा एक विकेट पर्यो।

भारतीय कप्तान विराट कोहली १५ रनमा साउदीको बलमा बोल्ड भए। केएल राहुल पनि ४ रन बनाउँदै डिग्रेडहोमको बलमा बोल्ड भए। केदार जाधव २७ रन बनाएर साउदीकै बलको शिकार भए। 

पहिलो खेलमा भारत ३ सय ४७ रन बनाउँदा पनि ४ विकेटले पराजित भएको थियो। 
 

प्रकाशित मिति: : 2020-02-09 05:26:12

प्रतिकृया दिनुहोस्