ओमानसँग बदला लिने नेपाललाई माैका

आईसीसी विश्वकप लिग–२ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

तीन दिन अघिमात्र नेपालले ओमानसँग खेल्दै सिरिजको सुरुवात गरेको थियो। आज मैदान उत्रदै दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन्।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। ७ राष्ट्र सम्मिलित लिग अन्तर्गत हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन्।

लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सिधै सहभागिता जनाउने अवसर पाउने छन्। सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो। एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन्।

हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन्। जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ। पछिल्ला ४ खेलमा नेपाल पराजित छ।

पहिलो खेलमा ओमानसँग १८ रनको साँघुरो नतिजामा हारेको नेपालको उही टोलीविरुद्ध खेल्नका लागि विशेष योजना केही नभए पनि गल्ती नदोहोर्‌याउने कप्तान मल्ल बताउँछन्।

‘बरु अझ राम्रो कसरी गर्ने भन्ने हो। जस्तो ब्याटिङको विषयमा सचेत छौं,’उनी भन्छन्,‘मिडल ओभरमा हामीले ध्यान दिन सकिरहेका छैनौं। त्यसलाई राम्रो गर्न सक्यौं भने हाम्रो जुन किसिमको बलिङ छ,त्यसले पक्कै पनि राम्रो नतिजा ल्याउनेछ।’

नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषवाकर, सन्दीप लामिछाने, रोहित कुमार पौडेल र सुशन भारी। 

ओमानी टिम: जिसस मक्सुद (कप्तानी) अकिब ईल्यास,जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गाैढ, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान। 

प्रकाशित मिति: : 2020-02-09 19:39:21

प्रतिकृया दिनुहोस्