सागमा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही ५ लाख ५० हजार दिने एन्फाकाे निर्णय

दीप सुवेदी

काठमाडाैं

अखिल नेपाल फुटबल संघ (एन्फाले) १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण पदक विजेता फुटबल खेलाडीलाई सम्मान गर्ने भएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार बसेको कार्यसमितिको बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ५ लाख ५० हजार दिने निर्णय गरेको हो। 

मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको १३ औं सागमा भुटानलाई हराउँदै नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै चौथो पटक स्वर्ण पदक जितेको थियो। 

काठमाडाैंकाे दशरथ रंगशालास्थित खेल मैदानमा भएकाे फाइनल खेलमा नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए। पहिलो पटक सागको फाइनलमा प्रवेश गरेर उपविजेता बन्दै इतिहास रचेको भुटानका लागि चेन्चो ग्ल्याजेनले सान्तोना गोल गरेका थिए।

यसअघि सन् १९८४, १९९३, २०१६ र २०१९ मा गरी नेपालले चार पटक क्षेत्रीय उपाधि जितिसकेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण जित्ने पुरुष फुटबल टोलीलाई जनही ५ लाख दिने निर्णय गरेका थिए।

यस्तै सागमा रजत पदक हात पारेको महिला फुटबलका सदस्यले भने जनही १ लाख ५० हजार पाउने भएका छ। 

नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। 

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको थियो।

नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले दुई गरेकी थिइन्। लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १–० अन्तरले पराजित गरेको थियो। 

महिला फुटबलमा अन्तर्राष्ट्रिय उपाधिबाट बिमुख हुँदै आएको नेपाल घरेलु मैदानमा स्वर्ण जित्ने ऐतिहासिक अवसरको सदुपयोग गर्न नसकेपछि रजत पदकमा चित्त बुझाएको थियो।

यस्तै एन्फाले शहीद स्मारक बी र सी डिभिजन लिगको लागि तयारी र पुरस्कार राशीको पनि तय गरेको छ। बी डिभिजन टोलीलाई लिगको तयारीका लागि हरेक क्लबलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको एन्फाले विजेतालाई १५ लाख दोस्रोलाई ८, तेस्रोलाई ५ र चौथोलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-02-10 03:30:17

प्रतिकृया दिनुहोस्