लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

हिंसामा छिन् विरह गाउने तेजआङ्मु

विरहका भाका हालेर समाजलाई भावानाको गहिरो तलाउमा पुर्‍याउने स्वर भएकी तेजआङ्मु महतारा गीत रेकर्ड गराउन चाहन्छिन्। तर, उनको आर्थिक अवस्थाले चाहना पूरा हुन दिएको छैन।

कोही सहयोगी मनका धनी र दानी व्यक्ति फेला परेको खण्डमा गीत रेकर्ड गर्न पाइने ठूलो आशा छ। उनको आशा पूरा हुन्छ हुँदैन त्यो समयको गर्भमा हुर्कन दिउँ।

जुम्ला जिल्ला गुठीचौर गाउँपालिका (१ को विकट गाउँ मनिसाँगुमा जन्मिएकी उनले सोही वडाको छिमेकी गाउँ चोत्रमा बिहे गरिन। स्कुले उमेरदेखि नै गाउन थालेकी तेजआङ्मुको स्कुल पड्दा पड्दै बिहे भएको थियोे। बिहे भएको ठायँमा पनि मेला पर्वमा गीत गाइरहिन्।

गरीब घर परिवारमा जन्मिएकी उनलाई बिहे गरेर अन्माएको घरमा पनि सुखसयल मिलेन। पारिवारिक बोझबाट उम्किन नसकेपछि उनको गीत रेकर्ड गराउने चाहना अधुरै छ।

अधुरो चाहना पूरा हुने आशमा उनले टिकटक आइडी भएका मान्छेका अगाडि पनि गाइन्। उनले गाएको गीत र स्वर निकै रुचाइयो पनि। तर गाउने वातावरण मिलाइदिने सहयोगी मिलेनन्।

तर, त्यही कारण मिल्यो, आफन्तको गाली। बिहे गरेर अपनाएको घरतिरका आफन्तहरु उनको माइती घरको आर्थिक अवस्थामा र दिदीको बिहेलाई लिएर मानसिक तनाव दिइरहन्छन्।

उनी दिदीको बिहेलाई लिएर जातीय गाली समेत सहनु परेको तितो भोगाइ सुनाउँछिन्। ‘मेरी दिदीको बिहे महरा थरका केटासँग भएको छ। केटा दलित हुन कि गैर दलित थाहा छैन,’ उनले भनिन्, ‘तर मेरा पोइली घरका आफन्तहरु त्यही कुरालाई लिएर मलाई डुमका सन्तान भन्छन्। मेरो श्रीमाले भने यस्तो भन्नुभएको छैन।’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलेकै दिन उनले आफन्तको कुटाई खाइन्। उनको बाँयातिर कान माथितिरको भागका रौं उखेलिएर टाटो परेको छ। उनले आँशु पुछ्दै भनिन्, ‘प्रहरीमा छलफल गराउने भनेर बजार बसेकी छु। उनीहरुले मलाई जहाँ भेटिन्छ त्यहीँ मार्छु भनेका छन्।’

यस अघि पनि उनले विभिन्न समयमा अन्यायपूर्ण भनाइ खानु परेको थियो। यति हुँदा पनि उनले गाउने रहरलाई मर्न दिएकी छैनन्। झन् खुलेर विरह गाइरहकी छिन्। गाउँदा उनलाई पीर पखालिएको जस्तो अनुभुती हुन्छ। 

‘गीत रेकर्ड गर्ने मेरो ठूलो धोको छ। गाएपछि हल्का भएको महशुस गर्छु। पीडा पखालिएको जस्तो लाग्छ,’ उनले भनिन्, ‘मलाई सहयोग गर्नुस्। मेरो आर्थिक अवस्था साह्रै कमजोर छ। म आर्थिक विपन्नताका कारण आफ्नो स्वर दबाउनु पर्ने अवस्थामा पुगेकी छु।’

याे पनि 
गाउने रहरलाई आर्थिक विपन्नताले गाँठाे पारेर बसेकी तेजआङ्मु

प्रकाशित मिति: : 2023-11-27 17:07:00

प्रतिकृया दिनुहोस्