सिन्धुपाल्चोकमा भेटियाे कोरोना जस्तै शंकास्पद रोग, गाउँ नै बिरामी

दीप सुवेदी

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शंकास्पद रोगको लक्षण देखिएको छ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा सोमबारदेखि कोरोनाभाइरसको लक्षणसँग मिल्दो ज्वरोको बिरामी भेटिएको हो।

गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार हालसम्म बिरामीको संख्यका एक सय नाघिसकेको छ। ‘उनीहरु सबैमा रुघा,खोकी र ज्वरोको संङ्क्रमण देखिएको छ’, उनले भने।

गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको उनले जानकारी दिए। गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उनले बताए।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन अनुरोध गरेका छन्।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि यस विषयमा पत्र पठाएको उनले जानकारी दिए। 

यता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको बताएका छन्। ‘हामीलाई जानकारी प्राप्त हुनेबितिकै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौ’, उनले भने,‘ हामीले रोग परिचहान गर्ने उपकरणसहित स्वास्थ्यकर्मीको माग गरेका छौं।’

गाउँपालिकाले बिरामी भएका गुम्बामा स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले बताए ।

तातोपानी नाकामा स्वस्थ्य शिविर

नेपाल–चीन सीमा तातोपानी नाकामा कोरोना भाइरस परीक्षणका लागि शिविर सञ्चालन गरिएको छ। भोटेकोसी गाउँपालिकाले चीनमा फैलिएको नोवल कोरोना भाइरस नेपालमा भित्रिन नदिन परीक्षण शिविर गरेको हो।

गाउँपालिकाले नाकामा चीनबाट ट्रक कन्टेनर लिएर आएका चालकहरुको स्वास्थ्य परीक्षण गरेको जनाएको छ। कन्टेनर लिएर आएका ४० कन्टेनरका चालकसहित एक चिनियाँ नागरिकलाई भाइरस भए नभएको परीक्षण गरिएको शिविरमा खटिएकी स्वास्थ्यकर्मी सोनिया लामघादेले बताइन।

नाकामा रहेको स्थानीय नागरिक तथा उपचारका लागि स्वास्थ्य चौकी आउनेलाईसमेत कोरोना भाइरसबाट बच्न सकिने घरेलु उपायहरुको सन्देश गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीहरुले दिइरहेका उनले बताइन्।

‘स्थानीयलाई हुलहुज्जतमा नबस्ने, ज्वरो आएको महसुस भए तुरुन्तै स्वास्थ्य संस्थामा जाने, माक्स प्रयोग गर्न, मासुहरु राम्रोसँग पाक्ने गरि पकाएर मात्रै खाने हातमुख राम्रोसँग धुने जस्ता जानकारीहरु दिएका छौं।’ उनले भनिन्।

प्रकाशित मिति: : 2020-02-12 20:19:00

प्रतिकृया दिनुहोस्