कोरोना भाइरस: दुई हजारभन्दा बढीको मृत्यु, बिरामी र वृद्धवृद्धा बढी जोखिममा

बिएल संवाददाता

काठमाडाै‌ं

कोभिड–१९ (कोरोना भाइरस)बाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ।

कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको छ। 

गएको २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन्। केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मंगलबार ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको हो। 

कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन्। चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए।

सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ। जसमध्ये करिब १५ हजार निको भइसकेका छन्।

अध्ययनमा धेरैजसो सङ्क्रमित मानिसमा मध्यमस्तरको सङ्क्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ। यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ।

भाइरसको धेरैजसो पीडितमा हलुका खालको सङ्क्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो। यसअघि सङ्क्रमण फैलिएको 'सार्स' र 'मेर्स'जस्ता भाइरसभन्दा कोरोना कम 'प्राणघातक' रहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-02-20 01:35:00

प्रतिकृया दिनुहोस्