नौमती बाजा बजाएर परिवार पाल्दै महिला (भिडियाे)

यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, महिलाको पनि आफ्नै नौमती बाजा समूह छ भन्दा। कुनै बेला दलित समुदायले बजाउने बाजा हिजोआज महिलाले समूह नै बनाएर बजाउन थालेका छन्। त्याे पनि व्यवसायकाे रुपमा। 

२०६९ सालमा स्थापना भएको महिला नौमती बाजा समूह विभिन्न समस्यासँग जुध्दै यति बेला व्यवसायिकतातर्फ मोडिएको छ। संस्थाकी संस्थापक अध्यक्ष जानुका पौडेल महिलाले अवसर पाए जे पनि गर्न सक्छन् भन्ने उदाहरण नौमती बाजा समूहले स्थापित गरेको बताउँछिन्।   

उनी भन्छिन्, ‘कुनै बेला दलितले मात्र बजाउने बाजा भनिन्थ्यो यसलाई। अहिले यो पेशागत व्यवसायको रुपमा परिणत भएको छ।’ 

हिजोआज महिलाले घरको मात्र काम गर्ने चलन केही परिमार्जित भएको छ। महिलाहरू पनि पुरुष सरह बाहिर गएर व्यवसायिक तवरले काम गर्ने भइसकेका छन्। 

यसैको जिउँदो उदाहरण पनि हो, नौमती बाजा समूह।

‘मैले यसको सुरुवात गर्दा। सबैले गाली गर्थे। के गर्न खोजेको? जातले पाएको काम पो गर्नुपर्छ भन्थेँ,’ पौडेलले बिएल नेपाली सेवालाई सुनाइन्–‘त्यही पनि हिम्मत हारिनँ। एक वर्ष निकै गाह्रो भयो। सुरुमा कोही पनि तालिम लिन मानदैन्थे। नाक खुम्च्याउँथे।’

सुरुमा उनले १३ जनाबाट काम सुरु गर्न खोजेकी थिइन। तर, हरेक दिन महिलाको संख्या घट्थे। ‘उही त हो नि। सामाजिक मान्यता र पुरानो परम्परा,’ उनले भनिन्–‘पहिलो त बाजा बजाउने शिक्षक खोज्नै गाह्रो। शिक्षक पाए सिक्ने मान्छे नपाउने। सिक्ने मान्छे भए शिक्षक नहुने।’

सुरुमा १३ जनाको समूह तयार पारेपनि पछि घटेर ३ जना पुगेको थियो। ‘काम गर्दै जाँदा मैले बुझे। समूहमा कथित उपल्लो जाति भएका कारण उनीहरूलाई बाँधेर राख्न गाह्रो परिरहेको रहेछ। त्यसैले मैले मौका नपाएका सिमान्तकृत जातिका महिलालाई भेला पार्न थाले,’ आफ्नो सफलताको कथा सुनाउँदै उनले भनिन्। 

उनको यो अभियानले भने सार्थकता पायो। उनले आर्थिक समस्याबाट जुधिरहेका महिलालाई जम्मा पारेर बाजा बजाउन सिकाउँदा एउटै व्यक्तिमा ५० हजार लगानी भएको थियो। ‘आज पनि म त्यसको ऋण तिरिरहेकी छु,’उनले भनिन्। 

अहिले उनीसँग दुई वटा टोली छ। पहिलो बाजा बजाउने र दोस्रो दोहरी खेल्ने र नाचगान गर्ने। नौमती बाजा समूहले विवाह, ब्रतबन्ध, जन्मदिन तथा अन्य शुभ कार्यमा आफ्नो प्रतिभा प्रस्फुटित गर्छ। जसका लागि उनीहरू कार्यक्रम हेरेर पारिश्रमिक लिने गर्छन्। ‘कम्तिमा ३० देखि ७० हजारसम्म लिन्छौं,’ संस्थाका अन्य सदस्यले बताए, ‘पाँच तारे होटलमा पनि विदेशी पाहुनाको स्वागतका लागि बजाउने गर्‍छौं।’

अहिले पौडेलको काँधमा संस्थाको जिम्मेवारी त छदैँछ, यसलाई भविष्यमा अझै दिगो र समुन्नत कसरी बनाउने यसमा पनि काम गरिरहेकी छिन्।  
 

प्रकाशित मिति: : 2020-02-21 01:53:52

प्रतिकृया दिनुहोस्

    यो बाजा समुहसँग कसरी सम्पर्क गर्न सकिन्छ र बिबाहकोलागि रेट कति हो शीघ्र जानकारी पाए हुन्थ्यो । 9851105077

    • 3 बर्ष अगाडि
    • मोहन प्रसाद घिमिरे