भन्छु: बधाइ ओलीजी ! साथै सोध्छु पनि: के चाला हो प्रधानमन्त्रीजी ? 

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक गरिएको मिर्गौला प्रत्यरोपण सफल भएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि आजभन्दा १२ वर्ष ७ महिना पहिले भारत, नयाँ दिल्लीको प्रशिद्ध अपोलो अस्पतालमा पहिलो पल्ट ओलीको शरीरमा नयाँ मिर्गौला हालिएको थियो। अहिले आएर त्यो मिर्गौलाले पनि काम गर्न छोडेपछि, नयाँ मिर्गौला प्रत्यरोपणका लागि गरिएको शल्यक्रिया मूलत: नेपाली चिकित्सकहरूको टोलीबाट नै भएको थियो तापनि नेपाली डाक्टरहरूलाई आवश्यक सहयोग गर्न उतिबेला पहिलो पल्ट मिर्गौला प्रत्यरोपण गर्ने चिकित्सक समूहका नेता प्रा. डा. अनन्त कुमारलाई पनि बोलाइएको थियो। प्रोफेसर अनन्त कुमार त्यस जटिल शल्यक्रियाका अवसरमा त्रिभुवन विश्वविद्यालय मेडिकल कलेज अस्पताल महाराजगन्जको अपरेसन थियटरमा पूरै समय उपस्थित थिए।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने दाताहरू दुवै जना नै महिला र झापावासी हुन् । अञ्जना घिमिरे र समीक्षा संग्रौला नामक यी सहृदयी युवतीहरू ओलीजीका अलि टाढाको नाताभित्र  पर्दछन् भनिन्छ । उनाउ मानिसहरूका लागि सामान्य गृहिणी जस्ता देखिने यी स्त्रीद्वय केही समयपछि पूरै बिर्सिइजाने दुइटा नाम मात्र हुन सक्छन् तर केपी ओलीजीलाई २ पटक जीवनदान दिएर ती दुई स्त्रीले समसामयिक नेपालको इतिहासमा अज्ञानतामै किन नहोस् जुन गम्भीर हस्तक्षेप गरेका छन् भविष्यमा कुनै दिन त्यसको लेखाजोखा अवश्य हुनेछ।

केपी ओलीजीको बेकम्मा भएको मिर्गौला र त्यसले बनाएको उहाँको खराब स्वास्थ्य स्थिति धेरै लामो समयदेखि यस देशको राष्ट्रिय चिन्ता, सरोकार र चर्चाको विषय बनेको छ । त्यसले राष्ट्रिय ढुकुटीलाई १९ करोड भन्दा बढी रकमको चुना लगाइसकेको छ । यस बाहेक, सत्ताको निकट हुन चाहने पैसावालहरूमध्ये धेरै जनाले सत्तारूढ पार्टीका शक्तिशाली अध्यक्ष र प्रधानमन्त्रीलाई बचाइराख्न अरू केही करोड लगानी गरिसकेको अनुमान छ । केही महिना पहिले ओली महोदय उपचारका लागि सिङ्गापुरको एउटा पाँचतारे प्राइभेट अस्पतालमा जानुहुँदा लागेको सबै खर्च नेसनल नाम भएको एउटा झल्लू मेडिकल कलेज अस्पतालका सञ्चालक - मालिक बशीरूद्दीन अन्सारी महोदयले बेहोरेको गोप्य समाचार चारै दिशामा उदाङ्ग भएको थियो।

हप्ताको दुई पटक हेमोडायलिसिस् गराउनु पर्ने, त्यसै बीचमा एपेन्डिसाटिस् अत्यन्त खराब अवस्थामा पुगी एपेन्डिक्स् फुटेर संक्रमण समेत् भइसकेको र नयाँ मिर्गौला हाल्न ढिला भएका खण्डमा नबाँच्ने स्थितिमा पुगेको वयोवृद्ध व्यक्ति शारीरिक रूपले एकदमै सक्षम छ भनेर बारम्बार जुन प्रचार गरिँदै आएको छ त्यो नै ओली एण्ड कम्पनीले नेपाली जनतालाई दिन खोजेको एउटा ठूलो धोका हो ।


सोलुखुम्बुको एउटा धनाढ्य शेर्पा घरानाले नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारलाई कुनै किसानले कोलमा जोतिएको आफ्नो गोरूलाई रिङाएझैँ जसरी रिङाइरहेको देखिन्छ त्यसका लागि पनि दिवङ्गत आङ छिरिङ शेर्पाले केपी ओलीको स्वास्थोपचारदेखि अरू गार्हस्थ्य शीर्षकमा समेत गरेको ठूलो अंकको लगानी जिम्मेवार छ भनिन्छ । प्रायश: डम्म बाक्लो पर्दा लगाएका गोप्य कोठाहरूमा बसेर गरिने यस्ता लेनदेनको बारेमा सप्रमाण कुरा गर्न त सकिँदैन तर ओली प्रशासनले त्यो शेर्पा परिवारको व्यापारिक उपक्रमलाई फाइदा दिलाउँन पटक पटक जुन किसिमका नीतिगत र कार्यगत निर्णयहरू गरेको कुराको खुलासा भएको छ त्यसले प्रष्ट हुन्छ वर्तमान सरकार "यती" व्यापारिक घरानाको इशारामा कुनै मदारीको बाँदरझैं नाङ्गै नाचिरहेको छ। 

जे होस् ओलीजीको शरीरमा सफलताका साथ नयाँ मिर्गौला जडान गरिएको छ । उहाँले आफ्नो आयुलाई सम्भवत:  केही वर्ष अरू तन्काउनु भएको छ । मिर्गौलाको रोगबाट ग्रस्त एउटा नेपालीका नाताले उहाँले हासिल गर्नुभएको सफलता उल्लेखनीय छ जसको प्रशंसा हुनु पर्दछ । उनान्सत्तरी वर्षको पाको उमेरमा जसरी उहाँको शरीरले दोस्रो पल्टको मिर्गौला प्रत्यारोपणलाई धानेको छ र त्यो पराइ, नयाँ अङ्गलाई स्वीकार गरेको छ त्यो गज्जब छ र छ अद्भूत पनि । ओलीजीको अदम्य जीजीविषा र सत्ताप्रतिको चरम् आशक्तिले यसलाई सम्भव बनाएको हुनु पर्दछ । यस प्रसङ्गमा तपाइँ हामी जस्तै नेपालको एक नागरिक खड्गप्रसाद शर्मा ओली बधाइका पात्र हुनुहुन्छ । उहाँले आफ्नो जीवनमा थप जति समय पाउनु भएको छ त्यो सबै शान्ति र सन्तोषका साथ बितोस् भनेर शुभकामना दिन्छु। 

तर, यस देशको एउटा जिम्मेवार नागरिक, राजनीतिकर्मी, एउटा प्रमुख पार्टीको प्रमुख र मुलुककै कार्यकारी प्रमुखका हैसियतले केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यलाई आधार बनाएर जसरी सरकारी कोषको चरम् दुरुपयोग गर्नु भएको छ त्यो निन्दनीय छ । हाम्रो जस्तो गरीव मुलुकको एक जना नेताको स्वास्थ्यमाथि १९ करोड रूपैयाँ सरकारी ढुकुटीबाट खर्च गरेको कुराको औचित्य कसैगरी पनि साबित हुन सक्दैन।

यति मात्र होइन, केपी ओलीजीले आफ्नो शारीरिक अशक्ततालाई बारम्बार लुकाउनु भएको छ । सबै कुरा ठीक छ भनेर सत्तालाई प्रम निवासमा एकत्रित गरी उहाँले आफ्नो वरिपरि रहेको सत्ताखोर जमातलाई पञ्चायत कालको भूमिगत गिरोहले गरेजस्तै आफ्नो नाममा प्रोक्सी गरी शक्तिको दुरुपयोग गर्ने अवसर प्रदान गर्नु भएको छ । उहाँलाई घेरेर बस्नेहरूको अगुवा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमालले त्यस अघि नै अतिरिक्त कमाइको स्रोत हुनसक्ने सरकारी मन्त्रालय, विभाग र कार्यालयहरूलाई सोझै प्रधानमन्त्रीको मातहतमा ल्याइसक्नु भएको थियो।

हप्ताको दुई पटक हेमोडायलिसिस् गराउनु पर्ने, त्यसै बीचमा एपेन्डिसाटिस् अत्यन्त खराब अवस्थामा पुगी एपेन्डिक्स् फुटेर संक्रमण समेत् भइसकेको र नयाँ मिर्गौला हाल्न ढिला भएका खण्डमा नबाँच्ने स्थितिमा पुगेको वयोवृद्ध व्यक्ति शारीरिक रूपले एकदमै सक्षम छ भनेर बारम्बार जुन प्रचार गरिँदै आएको छ त्यो नै ओली एण्ड कम्पनीले नेपाली जनतालाई दिन खोजेको एउटा ठूलो धोका हो । केपी ओलीजीले आफू एकदमै फिट् र सक्षम भएको त्यस्तो नक्कली र भ्रमपूर्ण नाटक मञ्चन  गर्नुको उद्देश्य अन्तिम साससम्म सत्तामा टास्सिइरहनु मात्र हो भन्ने कुरा  सजिलै थाहा हुन्छ । यो घृणास्पद झूठको प्रचारका लागि सरकारी र पैसाका बलमा आफ्नो बनाएका पाल्तु सञ्चार माध्यमहरूको व्यापक प्रयोग गरिएको छ।

अहिलेको मिर्गौला प्रत्यारोपणका सन्दर्भमा पनि प्रधानमन्त्री केपी ओलीको चरम् सत्तालोलुपता, सर्वसत्तावादी सोच र गैरजिम्मेदारीपना पूरै नग्न रूपमा उजागर भएको छ । मिर्गौला जडान जस्तो जटिल शल्यक्रिया गराउनुपर्ने व्यक्ति जो देशको प्रधानमन्त्री पनि छ कसरी यति गैरजिम्मेवार हुनसक्छ ? विधिको शासनमा विश्वास गर्नेहरू अचम्भित छन् । ओलीजीले यस्तो भान पार्न खोज्नु भएको छ: यस देशमा उहाँ बाहेक प्रधानमन्त्रीको कुर्सी सम्हाल्नसक्ने अर्को कुनै नेता छैन । ओलीजी यो पनि ठान्नु भएको छ शायद: जनताले ७४ सालको चुनावमा संसदमा बहुमत प्राप्त गर्ने दलको नेतालाई सत्ता सुम्पने गरी भोट हालेका होइनन् उनीहरूले त खड्गप्रसाद ओलीलाई आर्यघाटमा तानाबाना बुझाउने गरी यस देशको सम्पूर्ण सत्ता र अभिभारा काँधमा हालिदिएका हुन्।

ओलीजीले ७४ सालको चुनावमा नेकपालाई प्रचण्ड बहुमत दिलाएर प्रमको पद प्राप्त गरेपछि एउटा अमर इतिहासको निर्माण गर्ने सुनौलो अवसर पाउनु भएको थियो । त्यसलाई बुझेर आफ्नो दलले पाएको जनादेशलाई देश र जनताको अधिकतम् हितमा प्रयोग गर्नुको सट्टा अनाहकमा गुमाउनु भयो । अहिले उहाँको इज्जतको यस्तो फजिती भएको छ कि उहाँलाई जनताको नजरमा टिकिरहन पनि आफ्नो खराब स्वास्थ्यको सहानुभूति लिनु परेको छ । 


मिर्गौला प्रत्यारोपणको शल्यक्रियाका लागि अस्पतालमा भर्ना हुन जानु अगाडि प्रमले दिएको भाषणमा माथि उल्लेख गरिएको त्यही सर्वसत्तावादी सोच ध्वनित भएको छ । मपाइँवादको धृष्ट प्रदर्शन गर्दै ओलीजीले आफूले जीवनमा गरेका अनेक संघर्षहरूको जुन बखान गर्नु भएको छ त्यसमा सत्यांश भन्दा फट्याइँ बढी छ । केपी शर्मा ओलीको राजनीतिक जीवन-यात्राका बारेमा केही पनि त्यस्तो विषय छैन जुन दुनियाँका नजरबाट छिपेको होस् ।

सबैलाई थाहा छ: मानवीय स्वतन्त्रता, लोकतन्त्र, समतामूलक परिवेश र सामाजिक सद्भावको निर्माणका लागि यस देशमा यस शताब्दीको प्रारम्भभन्दा केही अगाडिदेखि शुरू भएको र आजपर्यन्त चलिरहेको राजनीतिक आन्दोलनमा विक्रमको २०२० को दशकको आधाआधीपछि 'हल्लैहल्लामा जमिन्दारहरूको घाँटी छिनाल्ने विद्रोह' मा सरिक हुनु भएका त्यतिबेलाका अल्लारे कुमाइँ-केटा केपी कमरेडको खासै कुनै उल्लेखनीय योगदान छैन । जुन लामो कारावासको कुरो गरेर ओलीजीलाई संघर्षशील राजनीतिकर्मीको पगरी गुथाइने गरिन्छ त्यसको कारणी झापा विद्रोह नै समग्रमा त्यसका प्रयोक्ताहरूको ठूलो भूल थियो भन्ने कुरा इतिहासमा दर्ता भइसकेको छ । तथाकथित झापा विद्रोहका नेताहरूले त्यो व्यक्तिहत्याको शृंखला भूल थियो भनेर त्यो नीतिको भर्त्सना गरिसकेको सन्दर्भमा हाम्रा क्रान्तिकारी केपी कमरेड हुलमुलमा खुकुरी बोकेर दगुर्नु भएको थियो भन्ने कुरा मात्रै प्रमाणित भएको छ उहाँले गरेको कुनै सकारात्मक संघर्ष होइन।

वास्तवमा ओलीजीले ७४ सालको चुनावमा नेकपालाई प्रचण्ड बहुमत दिलाएर प्रमको पद प्राप्त गरेपछि एउटा अमर इतिहासको निर्माण गर्ने सुनौलो अवसर पाउनु भएको थियो । त्यसलाई बुझेर आफ्नो दलले पाएको जनादेशलाई देश र जनताको अधिकतम् हितमा प्रयोग गर्नुको सट्टा उहाँले अहंकार, लघुदृष्टि, फासिस्ट सोच, चरम् पदलोलुपता र आफ्नो चरित्रमा निहित पाखण्डका कारण आफूले पाएको ऎतिहासिक अवसरलाई अनाहकमा गुमाउनु भयो । अहिले उहाँको इज्जतको यस्तो फजिती भएको छ उहाँलाई जनताको नजरमा टिकिरहन आफ्नो खराब स्वास्थ्यको सहारा लिनु परेको छ। पदमोहको पाशमा यसरी बाँधिनु भएको छ उहाँ, मर्ने बाँच्ने कुराको दोसाँधमा पुगेको अवस्थामा पनि "म भलाचङ्गा छु फर्केर आएर सिंहदरबारमा राइँदाइँ गर्छु" भनेर चिच्याइ चिच्याइ भन्नु  परेको छ ।

त्यसैले उहाँको मिर्गौलाको प्रत्यरोपण सफल भएको यस सुखद घडीमा म भन्छु: बधाइ ओलीजी ! साथै सोध्छु पनि: के चाला हो प्रधानमन्त्रीजी ? 

(यो लेखकको निजी विचार हो, यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति निरपेक्ष छ : सम्पादक।)

प्रकाशित मिति: : 2020-03-05 19:28:09

प्रतिकृया दिनुहोस्