मेरो प्रिय साथी

प्रितम पाण्डे

म्यान्मार

मेरो प्रिय साथी

अति रसिलो र हँसिलो

स्नेह र अनुराग थियो

अभिन्न सम्बन्ध थियो

सुवासित प्रेम थियो

निष्कपट प्रेम थियो

हामी दुई साथी माझ ।

 

मेरो प्रिय साथी

तर आज हामी दुवै

पर-पर भएका छौं

अनभिज्ञ भएका छौं

को हो झैं भएका छौं

सबै कुरा बिर्सिएर

वियोगी आगोमा जलेका छौं ।

 

मेरो प्रिय साथी

अथाह गंतव्यमा उन्मुख

जीवनको रथ यो मेरो

कहाँ गई ठोकिने हो खै

कहाँ पुगेर रोकिने हो खै

थाह नै छैन ...साथी ।

 

मेरो प्रिय साथी

आजको दिन अन्तिम हुन सक्छ

आजको रात अन्तिम हुन सक्छ

ऐलेको बोली अन्तिम हुन सक्छ

सबै दृश्य अन्तिम हुन सक्छ

आजको गास अन्तिम हुन सक्छ

फेरिरहेको सास अन्तिम हुन सक्छ ।

 

मेरो प्रिय साथी

मैले गल्ति गरें होला कति

तिम्लाई चोट दिएँ होला कति

तिम्रो मन दुखाएँ होला कति

तिम्लाई रूवाएँ होला कति

विनम्र क्षमा चाहन्छु म.. तिमीसँग

यस्तो त त्यहींमात्र हुन्छ..साथी

जहाँ अधिक माया र प्रेम हुन्छ ।

 

मेरो प्रिय साथी

कदाचित मनपंछी उडिगएछ भने

यो काया ढलिगएछ भने

जब आगोले खानेछ देह

तिम्रो मन तब रूनेछ.. अवश्य

निर्झर बग्नेछ नयनबाट.. अवश्य

तब देरि भइसकेको हुनेछ ।

 

तर साथी प्रिय मेरो

मैले प्रतिक्षा गर्नेछु तिम्रो

मैले बाटो हेर्नेछु तिम्रो

जन्म जन्मातरसम्म

युग युगान्तरसम्म

पुनर्मिलनको आशा लिएर ।

प्रकाशित मिति: : 2020-03-15 03:04:42

प्रतिकृया दिनुहोस्