दृष्टिबिहीनकाे सरकारलाई प्रश्न– कोरोनाबाट हाम्राे सुरक्षा कसले गर्छ?

जीवन बनिया

काठमाडाैं

सर्लाहीका रवीन्द्र महत कीर्तिपुरस्थित हनुमान घाटमा साथीहरूसँग कोठा भाडा लिएर बस्छन्। कालिमाटीको ताहचलमा बिएडी तेस्रो वर्षमा अध्ययनरत उनी राम्रोसँग आँखा देख्दैनन्। उनलाई ‘लोभिजन’ को समस्या छ। 

यो समस्याका कारण यसै त उनले पहिलेदेखि नै थुप्रै दुःखकष्ट झेल्नु परिरहेको छ। त्यसमाथि अहिले कोभिड–१९ अर्थात कोरोना भाइरसको संसारभरी फैलिएको भयले उनलाई झन् बढी समस्यामा पारेको छ। 

दृष्टिविहिनका लागि राज्यले हिड्न एउटा बाटो त राम्रोसँग बनाउन सकेको छैन। यसमा पनि ठाउँठाउँमा ठोकिनुपर्ने समस्याका कारण उनीजस्ता थुप्रै दृष्टिविहिन संक्रमणको उच्च जोखिममा परेका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मानिसहरूको संसर्गले कोरोना भाइरस सबैभन्दा छिटो संक्रमण हुने बताइरहेको छ। नेपालका दृष्टिविहिन बाटोमा पाइलापिच्छे मानिससँग नठोक्की हिड्न सक्ने अवस्था छैन। 

यस्तै सार्वजनिक यातायातलगायत अन्य ठाउँको अवस्था पनि उस्तै छ। अझ कोभिड–१९ का कारण देशमा व्याप्त बन्न थालेको कालाबजारीले सबैभन्दा ठूलो मार दृष्टिविहिनलाई नै परेको छ।  

‘ग्यास नै पाउन छोडिसक्यो। केही दिनअघि बढी पैसा तिरेर किन्नु पर्‍यो। हामी विधार्थीसँग पैसा कहाँ हुन्छ र?’ उनले दुःखेसो पोखे। 

रवीन्द्रको जस्तै हालत दृष्टिविहिन गोबिन्द आचार्यको पनि छ। उनी भृकुटी मण्डपस्थित नेपाल रत्नराज्य क्याम्पसका उपप्राध्यापक हुन्। कलेजमा पढ्न आउने विधार्थीलाई अनेक ज्ञान बाड्ने उनी आफै कोरोना भाइरसको बारेमा अलमलमा छन्। 
‘सरकार हरेक दिन रेडियो र टेलिभिजनमा कराइरहेको छ, रोगबाट बच्न सकेसम्म एकअर्काको सम्पर्कमा नबस्नु। दुरी बनाउनु। तर, हाम्रो लागि हिँडडुल गर्ने बाटो नै उपयुक्त छैन। त्यसैले धेरै मान्छेसँग ठोकिन्छौं,’ उनले भने–‘हामी त उच्च जोखिममा रहेछौं।’

नेपालमा हाल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अपाङ रहेका छन्, जसमध्ये १८ प्रतिशत दृष्टिविहिन छन्। 

उपप्राध्यापक आचार्य बजारमा मास्कको अभाव हुनुले पनि आफूहरूलाई थप तनाव दिएको बताउँछन्। ‘बजारमा कोरोनाको संक्रमण रोक्ने मास्क पाइदैन। धुलो रोक्ने मास्क पाइएपनि व्यापारीले तीन गुणा बढाएर बेचिरहेका छन्,’ उनले भने। 

ललितपुर उपमहानगरपालिकामा शाखा अधिकृतको रूपमा कार्यरत अर्की दृष्टिविहिन निरा अधिकारी नेपालमा कोरोना भाइरसको संक्रमण फैलिए आफूहरू सबैभन्दा पहिले यसको जोखिममा पर्ने बताउँछिन्। भन्छिन्, ‘आँखा देख्ने व्यक्ति बाटोमा हिड्दा शंकास्पद व्यक्तिसँग तर्किन सक्छन्। तर, हाम्रो त उपाय छैन।’

उनी सरकारसँग दृष्टिविहिनको स्वास्थ्यलाई लिएर गम्भीर बन्न आग्रह गर्छिन्। कोरोना भाइरसलाई डब्ल्युएचओले महामारी भन्दै यसबाट मानिसलाई जोगाउन सबै देशसँग आग्रह गरिसकेको छ। नेपालमा हालसम्म कोरोनाको प्रभाव देखिएको छैन। तर, डब्ल्युएचओले नेपाललाई उच्च जोखिमको सूचिमा राखेको छ। 

कोरोना भाइरसबाट हाल १ सय ६२ देश प्रभावित छन् भने ७ हजारभन्दा बढीको निधन भइसकेको छ। चीनको कुबे प्रान्तको उहान शहरबाट फैलिन सुरु गरेको कोरोना भाइरसका कारण मानव अस्तित्व नै संकटमा परेको छ। 
 

प्रकाशित मिति: : 2020-03-20 04:26:00

प्रतिकृया दिनुहोस्