‘ज्यानभन्दा ठूलो व्यापार होइन, सुरक्षित बनौँ’

चीनको वुहान शहरबाट विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ ले एसियाको ब्यस्त शहर मुम्बईलाई पनि निकै प्रभावित पारेको छ। सोमबारसम्म १३२ जना कोभिड–१९ बाट संक्रमित बिरामी फेला परेका छन् । ३ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोरोना भाइरसका कारण भारतको केन्द्रीय सरकारले ३१ मार्चसम्म सबै राज्यहरुमा सार्वजनिक सभा, समारोह, विद्यालय, कलेज र सामुहिक हिड्डुल बन्द गर्न निर्देशन दिएको छ। यो समयमा सबैभन्दा धेरे मार नेपालीहरुमा देखिएको छ। नेपालीहरु आ–आफ्नो पेशा, व्यवसाय छाडेर भएपनि यतिबेला सुरक्षित हुने काममा लागेको बताएका छन्।

महेशराज रेग्मी (बसई)

१५ वर्षदेखि मुम्बईमा बसिरहेको छु। मैले टि.एम.एस् टुर एण्ड ट्रावल्स चलाउन थालेको करिब ३ वर्ष जति भयो। इन्टरनेटले गर्दा – मलाई कोरोना भाइरसका बारेमा राम्रोसँग जानकारी छ। व्यावसायको हिसावले मार्च र मे महिना राम्रो समय हो, तर अहिले कमाई शून्य छ।

भारतमा कोरोना संक्रमणको चर्चा चलेदेखि म, मेरो परिवार र साथी–भाईहरुलाई सामाजिक सञ्जालमा देखेका, भेटेका उपयोगी कुराहरु शेयर गरिरहेको हुन्छु। महामारी जस्तो कुरामा मजाक गर्नुहुदैन भन्ने मेरो भनाई हो। सुरक्षित बनौं – कोरोनाबाट संक्रमित संख्या पनि दिनानुदिन बढि नै रहेको छ। मुम्बईमा नै एक जनाको मृत्यु भएको खबर आएपछि हामीहरु घरभित्रै बस्नुप¥यो नि?

कोरोनाबाट दिल्ली र कर्नाटक राज्यमा २ जनाको मृत्युको खबर सुनेपछि  म झन् सचेत बने। १२ तारिखदेखि मैले गाडी पार्कमा थन्काएर, घरमै बसिरहेको छु। बाहिर जान मन नै लाग्दैन। यत्ति धेरै मान्छेहरुको ठेलाठेल हुने मुम्बई आजकाल सुनसान छ। बाहिर तिर चहल–पहल छैन। महाराष्ट्र सरकारले पनि जताततै घुम्ने काममा प्रतिवन्ध लगाएको छ। ३१ मार्चसम्म त बाहिर हिड्डुल नगरौं न।

करन साउद (मुम्बई)

कोरोना भाइरसले विश्वलाई नै चिन्तित बनाएको छ। विदेशका हरेक देशमा रहेका हामी नेपालीहरु पनि यतिबेला कोरोनाबाट निकै चिन्तित बनेका छौं। नेपालको छिमेकी राष्ट्र र खुल्ला सिमानाका कारण आवत–जावत सजिलो हुदाँ, भारतमा धेरै नेपालीहरु काम गर्न आएका छौं।

यहाँ पनि कोरोनाको निकै प्रभाव तथा बिगबिगी देखिन्छ। यस अबसथामा म त सुरक्षित नै छु। तर थ्रुपै शहरहरुमा काम गर्ने नेपालीहरुको अवस्था चिन्ताजनक देखिन्छ। खासगरी होटेल र कम्पनीहरुमा काम गर्नेहरुको अबस्थामा। प्रवासी नेपालीहरुलाई आइपर्ने समस्यालाई सामाधान गर्नको लागि नेपाली दूतावास स्थापना गरिएका हुन्छन् तर, भारतभर कोरेना फैलिरहेको बेला प्रवासी नेपालीहरुलाई दूतावासले कुनै सन्देश सल्लाह सुझाव नै दिन सकेको छैन।

धेरै नेपालीहरु सुरक्षित भएपनि केहीको अबस्थामा हामीलाई चिन्ता छ। यस्तो समयमा आफ्ना नागरिकहरुलाई नेपाल सरकार र त्यसको प्रतिनिधि दिल्ली दूतावास आफैमा मौन देखिन्छ। यस्तो परिस्थीतिमा दूतावास चुपचाप देखिनु ठुलो दुर्भाग्य हो।

अशोक कुमार शाही (उल्लासनगर)

उल्लासनगरमा व्यवसाय सुरु गरेको ३ महिना भयो। होटेल राम्रो चलिरहेको थियो, तर अहिले सोचे जस्तो छैन, चौतर्फी रुपमा कोभिड–१९ हल्लाले मेरो फुट व्यवसायमा पनि समस्या पारेको छ ।

कोरोनाको हल्लाले होटल बन्द छ। मेरो परिवार कोठामा सुरक्षित बस्न बाध्य भएका छौं। आर्थिक रुपमा प्रभाव परेपनि, स्वास्थ्यलाई केही नहोस्, आफु बाँचियो भने  पैसा त  जतिबेला कमाउन सकिन्छ, कि भन्ने लागेको छ। बच्चाहरुको स्कुलपनि बन्द भएको छ। हामीहरु बाहिर बाहिर जादैनौं।

सबै जनाा सुरक्षित बसौं – नडराउ भन्ने सल्लाह छ। यदि बाहिर जानु नै पर्ने हो भने, मास्सको प्रयोग गर्नुहोस् – भिडभाडमा नजानुहोस् ।

कमल लाडोरी (पुणे)

मैले काम गर्ने महाराष्ट्रको सरकारी विद्यालय विदा भएको छ। महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमितहरुको संख्या भेटिएपछि, राज्य सरकारले धारा १४४ लागू गरेको हो। पुणेमा हल्ला त्यत्ति धेरै छैन, यदपि प्रवासी नेपालीहरु भने सचेत नै छौं। 

बेला–बेला बाहिर निस्कीएपछि, प्रायः समय घरमै आराम गर्ने गरेका छौं। सामाजिक सञ्जालको हल्लाको पछि नलागेर, सुरक्षित हुनुपर्दछ जस्तो लाग्छ – मलाई। यस्तो अवस्थामा सबै भारतमा बसोबास गर्ने नेपालीहरुमा सचेत रहन अनुरोध गर्दछु ।

महेन्द्र अर्याल (नवी मुम्बई)

प्रवासमा नेपाली एक छौ र चुनौतीहरुमा पनि मिलेर संघर्ष गर्ने गरेका छौं। दुनियालाई गम्भीर चपेटमा ल्याएको महामारी कोराना भाइरसबाट भारतमा बसोबास गर्ने हामी प्रवासीहरु पनि चिन्तित बनेका छौं। कोरोना यहाँपनि दिनप्रति दिन बढ्दै गएको छ।

नोकरी गर्ने नेपालीहरूको अवस्था संकटमा पनि परेको छ। यस दुःखद् अवस्थामा नेपाल सरकार तथा नयाँदिल्ली स्थित नेपाली दूतावासले सान्त्वना तथा साथ दिने समयमा चुपचाप तथा मौन बस्नु चिन्ताको बिषय हो। स्मरण रहोस् नेपाल सरकारको राजस्व संकलनमा भारतमा रहेका नेपालीहरुले  रेमिट्यान्सबाट ठुलो योगदान गरेका छौं।

यो समयमा तपाई हामीहरु आ–आफ्नो काम छाडेर भएपनि सुरक्षित बस्नुपर्दछ।

प्रकाशित मिति: : 2020-03-19 00:06:00

प्रतिकृया दिनुहोस्

    आज फेरी स्मरण भय ति दिन हरु। धन्यवाद BL news र रिपोर्टर भाइलाई।

    • 2 हप्ता अगाडि
    • Maheshraj Regmi