राप्रपाका नेता दीपकबहादुर सिंहलाई तीन प्रश्न

राप्रपाका दिन आइसके, राजाका पनि आउँछन्

पूर्वराज्यमन्त्री दीपकबहादुर सिंह नयाँ पुस्ताले रुचाएका मकवानपुरका पाका नेता हुन्।

संघीय संसद्काे तल्लाे सदन प्रतिनिधिसभा सदस्यसमेत रहेका उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताकाे सूचीमै पर्छन्। उनै सांसद सिंहलाई बिएल नेपाली सेवाले तीन प्रश्न साेधेकाे छ–


१. राजा ल्याउने भन्नुहुन्छ तर, राजा फाल्ने प्रचण्डको क्याबिनेटमा बसेर मन्त्री बन्नुहुन्छ। तपाईंहरूमाथि  जनताले कसरी विश्वास गर्ने?

हो, यसमा कुनै दुई मत नै छैन। राजा फाल्ने महाभूमिका प्रचण्डजीकै हो। त्यही प्रचण्डजीलाई दौरा सुरुवाल र ढाका टोपीमा देखाउने पनि त हामी नै हौँ। त्यो मात्र नभइकन उहाँलाई यस्तो बनायौँ कि नेपालमा लाज लाग्ने व्यक्तिलाई इन्दोर महाकांलमा गएर गम्छा र धोतीमा पूजापाठ गर्न बाध्य बनायौँ। मैले यो कुरा हाउसमा उठाएँ।

उहाँलाई पशुपतिनाथ मन्दिरमा गएर कहिले पूजापाठ गर्नुहुन्छ भनेको थिएँ। उहाँले जान्छु भन्नुभयो र जानु पनि भयो। हामीले सरकारमा जानुअघि २४ बुँदे सम्झौता गरेका थियौँ। भ्रष्टाचार गर्नेलाई छोड्नुहुँदैन भनेका थियौँ। हामी त्यसमै हिँड्यौँ। अहिलेको सरकारले भ्रष्टाचार केलाइरहेको छ। म प्रचण्डजीलाई मिडियामार्फत भन्न चाहन्छु, टुप्पो केलाउने मात्र होइन्, जरैसम्म जानुस्। अनि मात्र तपाईं राजनीतिमा अमर हुनुहुन्छ।

आजको अवस्था हेर्नुस्, देशको अवस्था के छ। उहाँको भारत भ्रमण रोकिने भएपछि नागरिकता विधेयक अगाडि सारियो। राष्ट्रपति रामचन्द्र पोडैलले जालझेल गरेर नागरिकता विधेयक प्रमाणिकरण गरिनै दिनुभयो। सर्वोच्च अदालतबाट पूर्णपाठ आउन बाँकी नै रहँदा रेशम चौधरीलाई उन्मुक्ति दिइयो। आममाफी त कुर्सी टिकाइराख्ने एउटा अस्त्र मात्र हो। सरकार बचाउनका लागि यत्रो खेल रचियो। पाँच भोटका लागि केसम्म गर्ने रहेछन् भन्ने त स्पष्ट नै भइसक्यो। बजेट पास हुँदा के कुरा गरौँ।

उपेन्द्र यादव, सिके राउत, माधव नेपाललगायतले हामीलाई यति पैसा दिने भए भोट हाल्छौँ, नत्र सरकार ढाल्छौँ भने। सबै डिमाण्ड पूरा गर्छु भनेर प्रचण्डजीले भन्नुभयो। अरु पनि केके सहमति भएका होलान्। त्यसैले केही टुप्पो उखाल्दैमा केही फरक पर्नेवाला छैन। भ्रष्टाचारको जरो तलसम्म छ, यो खोताल्न सक्नुपर्छ। हाम्रो पार्टीबाट कसैले भ्रष्टाचार गरेको छ भने त्यसलाई पनि छोड्नुहुँदैन।

२. राजा चाहियो भन्नुहुन्छ। राजा चाहिनेहरू नै दुई टुक्रा भएका छन्। तपाईंकै पूर्वनेता कमल थापा राप्रपा नेपाल खोलेर बस्नुभएको छ। यस्तोमा राजा ल्याउन सम्भव छ त ?

हाम्रो पूर्वपार्टी अध्यक्ष कमल थापाजीले नयाँ पार्टीको स्थापना गर्नुभएको छ। हिजो मलाई पार्टीको चुनावमा उठ्दा जसले मलाई मत हाल्नुभयो, भोलि पनि मत हाल्नुहुन्छ भन्ने छैन। कमल थापाजीले मलाई हिजो साथ सहयोग गरेकै हो। हामीले पनि गर्‍यौं तर, अहिले मेरो धार बेग्लै छ। राप्रपाको धार बेग्लै छ। उहाँले हामीलाई सपोर्ट गर्नुभएन। बरु, अरुले गरे। अब हामी मुलुक बचाउनतर्फ लाग्नुपर्छ। राजा आउनुपर्छ, ल्याउनुपर्छ भन्ने हाम्रो प्रमुख एजेण्डा हो। तर, त्योभन्दा माथि देश छ। देश जोगाउनुपर्छ। आज ठुल्ठूला पार्टीको अस्तित्व संकटमा परेको छ। हामी पनि विकल्प हौं। त्यसैले काम गर्न सके, जनतालाई विश्वास दिलाउन सके, राप्रपा फर्किन्छ। 

राजाले नेपाललाई एक सूत्रमा बाँध्न सकेनन् भन्ने कुरा सत्य हो। तर, त्यसपछि आएको गणतन्त्रले के परिवर्तन ल्यायो? संस्कार, परम्परा, रितिरिवाज, संस्कृति सबै सत्यनाश भयो। विदेशीको प्रभाव चलिरहेको छ। भन्नलाई नेपाली भन्छौं तर विदेशीको गुलाम बनेका छौं।

एमसीसी, एसपीसीजस्तो मुद्दामा सेना आयो भने मेरो कपाल मुडेर थानकोट कटाइदिनु भन्नेहरू आज हाम्रै अगाडि छन्। तर, आज कोही बोल्न सकेका होइनन्। सबै लाचार छन्। किनकि उहाँहरू चुकिसक्नुभएको छ। राष्ट्र, राष्ट्रियताको विषयमा विश्वमाझ बोल्न सक्ने आँट कसैमा पनि छैन। अहिले सबै जनाले राजा भन्नुको कारण के हो? पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म राजाकै माग उठिरहेको छ। अब राजालाई देश चलाऊ भनेका छन्। राजा ल्याउने कि नल्याउने त्यो जनताको हातमा छ।

राप्रपाको १४ जना सांसदले चाहेर राजा आउन सम्भव छैन। जसरी राजालाई सडकमा पुर्याइयो, त्यसरी नै राजालाई सडकबाट उठाएर नारायणहिटी दरबार लैजान जनता तयार भएको मैले महसुश गरेको छु।

३. बदनाम चरित्र भएका राजा र युवराजलाई काँधमा बोकेर हिँडिरहनुभएको छ। यसले तपाईंहरूलाई केही फरक पारेको छैन?

वास्तवमा नेपाली राजनीति फोहोरी छ। एकअर्कामाथि दोष लगाउने काम मात्रै भइरहेको छ। नेताहरूमा यस्तो खुबी धेरै छ। म चुनाव लड्दा नै ममाथि थुप्रै आरोप लागेको थियो। बन्दुके भन्थे। जो हुने खाने छ, जित्न सक्ने क्षमता राख्छ, उसैको खुट्टा तान्ने गरिन्छ।

सरकारमा बस्नेहरूले विभिन्न नियम बनाएका छन्। कार्यान्वयन गरे भइहाल्यो। गाँजा तान्नेलाई समात्नु भनिरहेका छौं। मूर्ति चोर्नेलाई कारबाही गर्न रोकेका छैनौं। संविधान उहाँहरूले नै बनाएको हो। तर, लागु गर्न किन खुट्टा कमाउने? आफ्नो पनि पोल खुल्छ भनेर त हो नि। राष्ट्रको सम्पत्ति क्याबिनेटबाट पास गरेर बेचेका छन्। नशाको सुरमा सरकारी सम्पत्ति व्यक्तिको नाममा पास गरेका त होइनन् होला। गाँजा खानेभन्दा पनि ठूला अपराध त यिनीहरूले गरेका छन् नि। होइन् र? यिनलाई पनि कारबाही गर्नुपर्‍यो। क्याबिनेटले के आधारमा ललिता निवास बकसमा दियो। यो त राजा महेन्द्रले बचाएको सम्पत्ति हो। आज त्यो सम्पत्ति नेताहरूले आफ्नो नजिक र पार्टीका मान्छेलाई दिएर सकाए। यो काण्ड त खुल्ला रुपमा बाहिर आइसकेको छ। अनि किन कारबाही अगाडि नबढाएको? यसको जवाफ त दिनुपर्‍यो। आफू पनि पर्ने हो कि भन्ने डर छ नि। त्यसैले त यिनीहरू डगमगाएका हुन्। 

प्रकाशित मिति: : 2023-07-11 16:39:00

प्रतिकृया दिनुहोस्