आजदेखि चिडियाखाना बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीकाे सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएकाे छ। आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन्। 

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले भने, 'कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो। हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए।' विद्यालयमा वार्षिक परीक्षा सकिएकाे र विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उनले बताए। 

अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन्। हरेक दिन चिडियाखाना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो। अहिले चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका दुई सय विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन्।   

अहिले चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ। जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन्। ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। 

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन। अवलोकनका लागि विदेशीको लागि ७५० रुपैयाँ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2020-03-20 20:52:23

प्रतिकृया दिनुहोस्