नेपाली चिकित्सकको एसएमएलई परीक्षाको स्कोर रद्द प्रकरण–५

आज अमेरिकामा ८३२ नेपाली चिकित्सकको 'युएसएमएलई स्कोर' प्रकरण को आदेश आउँदै

प्रदीप भट्टराई

वासिङ्टन डीसी

सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनासँग सम्बन्धित मुद्दा कसरी अगाडि बढ्छ, त्यसबारेमा न्यायाधीशको आदेश आउँदै छ।

नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ८३२ नेपाली चिकित्सकको युएसएमएलई परीक्षाको स्कोर रद्द गरेपछि प्रभावित एक चिकित्सकले वासिंटन डिसीस्थित डिस्ट्रिक्ट कोर्टमा फेब्रुअरी १२मा मुद्दा दायर गरेका थिए। उनले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले नेपाल सम्बन्धी जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग  गरेका थिए।

फेब्रुअरी १२ मै न्यायाधीश रुडोल्फ कोन्त्रेरसले प्रारम्भिक सुनुवाई गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग अस्वीकार गरे पनि प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेर मध्यमार्गी आदेश जारी गरेका थिए ।

उनले प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ साँझ ५ बजेसम्म आफ्ना तर्क पेश गर्न र ती  तर्कको जवाफी तर्क ई-फाइलिङ गर्न वादीलाई फेब्रुअरी २० साँझ ५ बजेसम्मको समय दिएका थिए ।

डिसी कोर्टका अनुसार निर्धारित समयमा दुबै पक्षले आफ्ना तर्क/ प्रतितर्क प्रस्तुत गरेका छन् । यी तर्कहरूका आधारमा न्यायाधीस क्रिस्टोफर कुपरले निर्णय गर्नेछन् । 

वादी प्रभावित नेपाली चिकित्सकले नेपालीमाथि मात्र यस्तो निर्णय गरेर विभेद गरेको र प्रभावित चिकित्सकलाई आफ्नो कुरा राख्ने मौका समेत नदिएर नागरिक अधिकारसमेत हनन गरिएको दाबी गरेका छन् । यी दुबै दाबीको प्रतिवाद गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ५७ पेज लामो तर्क अदालतमा पेश गरिएको बताइएको छ । 

नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मिउ क्यारोलिनले मुद्दाको प्रतिनिधित्व गरिरहेकी छिन् ।

यी समाचार पनि पढ्नुहोला:

सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा ‘युएसएमएलई–नेपाल प्रकरण’मा कदम चाल्ने आश्वासन

प्रकाशित मिति: : 2024-02-20 21:53:00

प्रतिकृया दिनुहोस्