कोरोना भाइरसः बसपार्कमा भीडभाड, शुक्रबार १२ बजेसम्म ६८ हजार छोडे काठमाडौं

विश्वका धेरै देशहरुमा फैलिरहेको कोरोना भाइरस कोभिड —१९ को जोखिम बढेसँगै काठमाडौं उपत्यका छोडी गाउँ फर्किनेको संख्या बढेको छ।

विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ ।  बसपार्क र काउन्टरहरुमा दशैंतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ ।

शैक्षिक सत्रको अन्तिम महिनामा हताहतार वार्षिक परीक्षा लिइएको थियो भने माध्यमिक स्तरको परीक्षा एसईई अन्तिम समयमा स्थगित गरिएको थियो। लोक सेवा आयोग, सिटीईभीटिई तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन्।

विद्यालय बन्द र परीक्षाहरु समेत स्थगित भएपछि सर्वसाधारणहरु धमाधम उपत्यका छाड्न थालेका हुन्।

गत बुधबार सरकारले उच्च सतर्कता अपनाउन भन्दै शिक्षण संस्था बन्द गरेपछि पछिल्ला दुई दिनमा काठमाडों छोड्नेको संख्या ह्वात्तै बढेको हो।

ट्राफिक प्रहरी महाशाखाकाअनुसार बिहिबार १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाडौं छाडेका छन् भने शुक्रबार मध्यान्हसम्ममा ६८ हजार मानिसले काठमाडौं छाडेका छन्।

 महाशाखाको तयांकअनुसार समान्य समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रुहरु उपत्यका आवतवात गर्ने गरेका थिए ।

बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन् ।

वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरे पनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणले गर्न थालेका छन्।

यात्रुहरुबाट बढी रकम असुल गरिए पनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन् ।

प्रकाशित मिति: : 2020-03-21 04:06:00

प्रतिकृया दिनुहोस्