विभेदकारी समाजकी विद्रोही सीता (भिडियोसहित)

करिब छ दशकअघि नेपाली समाजले छोरीलाई भन्दा छोरालाई बढी महत्व दिन्थ्यो। यदि कोही दम्पतीले छोरा जन्माएनन् भने उनीहरूलाई समाजले हेर्ने नजर फरक हुन्थ्यो। जसको सामाजिक र मनmवैज्ञानिक असरले भताभुङ्ग थियाो, समाज।

काभ्रे, तिमालका कान्छा लामा र कान्छी लामाका लगातार छ बहिनी छोरी जन्मिदा छोरोको आगमन भएन। त्यही कारण उनीहरुलाई समाजले हेर्ने नजर फरक थियो।  समाजको त के कुरा भयो र?, घरबाटै अपहेलित हुनु पर्‍यो ।  योभन्दा ठुलो पीडा अरु के हुन सक्थ्यो र ?

यही पीडा सहन नसकेर कान्छा लामाले गाउँ छोडे।

०००

काभ्रेबाट राजधानीको दूरी त्यति लामो छैन। करिब ४/५ घण्टाको बाटो हो। त्यही दुरी पार गरेर लामा काठमाडौं आए । गाउँको अगार्निक र खुसीमय जीवन छाडेर उनले गलैँचा कारखानाबाट संघर्षको नयाँ यात्रा सुरू गरे।

केही महिनामै उनले परिवार नै काठमाडौं ल्याए । कान्छा लामाको परिवार टङ्गालस्थित हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय रहेको ठाउँमा अवस्थित डोल्पा गलैँचा कारखानामा मजदुरी गर्थ्यो।

कान्छा लामा र कान्छी लामा दिनभर कारखानामा गलैँचा बुन्थे। घरकी जेठी छोरी सीता पनि बुबा–आमासँगै साँझ-बिहान कारखानामा गलैँचा बुन्थिन्, जतिबेला उनको उमेर ६/७ वर्ष मात्रै थियो। संघर्ष उमेरले होइन, आवश्यकताले गरिन्छ भने जस्तै पारिवारिक अवस्थाका कारण सीतालाई बाल्यकालमै गलैँचाका तानाहरूमा हात चलाउनुपर्ने बाध्यता आई लाग्यो ।

नाग पाेखरीस्थित नन्दी विद्यालयमा पढ्दै सीताले कारखानामा काम गर्न थालिन्। उनी दिउँसो विद्यालय जान्थिन्, साँझ-विहान कारखानामा गलैँचा बुन्थिन। स्कुल बिदा हुने बित्तिकै सँगैका साथीहरु घर कुद्थे भने सीता गलैँचा बुन्न कारखानातिर लाग्थिन् ।

‘स्कुल छुट्टी भएपछि सबै साथीहरु घर जान्थे, म भने हतारहतार गलैँचा कारखाना पुग्थेँ,’ सीताले आफ्नो संघर्षमय बाल्यकाल सुनाइन्,‘कारखाना पुगेर आमाले घरबाट ल्याइदिएको फरिया लगाउँथेँ, खाजा खान्थेँ र गलैँचा बुन्न बस्थेँ।’

सीता आमा-बुबासँगै राति अबेरसम्म गलैँचा बुन्थिन्। मध्यरातमा घर पुगेर बल्ल सुरु गर्थिन्, स्कुलको होमवर्क। उनले स्कुलको होमवर्क राति नै सकेर मात्रै सुत्नु पर्थ्यो किनभने बिहान उठ्नासाथ उनलाई कारखानामा गलैँचा बुन्न जानुपर्ने बाध्यता थियो। बिहानभर गलैँचा बुनेर उनी विद्यालय जान्थिन् । यही गरेर नै सीताले २०४७ सालमा नन्दी माध्यमिक विद्यालयबाट एस.एल.सी उत्तीर्ण गरिन् ।

०००

एस.एल.सी उत्तीर्ण गरेपछि पनि गलैँचा बुन्ने कामलाई निरन्तरता दिनु उनको बाध्यता थियो। त्यतिबेलासम्म त उनमा काम नगरी बस्न नसक्ने बानी परिसकेको थियाो। एस.एल.सी.पछि उनलाई अरू अवसर पनि आउन थाले । बच्चैदेखि त्यहीँ काम गरेर हुर्किएकी उनलाई कारखानाको व्यवस्थापनमा काम गर्ने मौका मिल्यो । त्यसपछि उनलाई काम गर्न अलिक सजिलो भयो।

त्यति मात्रै नभएर कारखानाका साहुले सीताका लागि मजदुरलाई प्रौढ शिक्षा पढाउने वातावरण पनि बनाइ दिए । उनले करिब दुई वर्ष पढाइन् । उनले त्यहाँका मजदुरलाई बिहान र साँझ १/२ घण्टा पढाएर शिक्षाको ज्योति छर्ने काम गरिन् भने आफू आइकम पढ्न सुरू गरिन्।

‘मेरो बुबाको चाहना मलाई सिए पढाउने थियो तर भने जस्तो भएन, सरस्वती बहुमुखी क्याम्पसमा आइकम पढ्न थालेँ । कमर्श पढ्दापढ्दै कारखानामै ग्राफ सेक्सनमा काम पाएँ,’ उनले भनिन् । सीताको पढाइ असाध्यै राम्रो थियो, सीए पढाउन नसके पनि उनका बुबाले उनलाई सरकारी जागिरे बनाउने सोचेका थिए तर त्यतातिर भने उनको ध्यान गएन । उनले कारखानाको कामलाई नै निरन्तरता दिइन् ।

०००

सीताका बुबाले नेपाल खाद्य संस्थानमा जागीर पाए। त्यतिबेला उनी नेकपा (एमाले) निकट संगठनमा आबद्ध थिए तर त्यो कुरा सीता र उनको परिवारलाई थाहा थिएन । त्यतिबेलाको समय त्यस्तै थियो, भूमिगत राजनीति गर्नुपर्ने अवस्था। बुबा राजनीतिमा जोडिएपछि सीताको वरिपरि एमाले नेताहरूको नजर पर्न थाल्यो। सीता जति मेहेनती थिइन्, त्यति नै निडर पनि । उनको बोली पनि प्रभावशाली थियो । त्यसैले नेताहरूले पछ्याउन थाले।

केही नेता र साथीहरूको प्रभावले उनी ०४७ सालमा एमालेमा जोडिइन् । २२ वर्षकी उनी सामाजिक काम गर्ने भन्दै राजनीतिमा जोडिएकी थिइन् । ‘राजनीतिमा लागेपछि हाम्रो कारखानामा रहेका धेरै मानिसलाई हाम्रा हक, अधिकार र कर्तव्यलगायतका कुराहरू सिकाउन र बुझाउन थालेँ । धेरै कुरामा मैले मजदुरलाई सुसूचित गराउने गर्थेँ, त्यतिबेला मेरो प्रभाव धेरै राम्रो थियो । धेरैले राम्रो नजरले हेर्नुहुन्थ्यो,’ सीताले भनिन्।

उनको नेतृत्वदायी क्षमताबाट अरू नेताहरू पनि प्रभावित थिए। कार्पेट युनियनका तत्कालीन अध्यक्ष विनोद श्रेष्ठले ‘यो केटीले श्रमिक आन्दोलन हाँक्न सक्छे’ भन्दै पार्टीका नेता गणेश रेग्मीसँग भेट गराए । उनीहरू नेपाल ट्रेड युनियन (जिफन्ट)मा सीतालाई जोड्न चाहन्थे । हालका ट्रेड युनियन अध्यक्ष श्रेष्ठ र नेता रेग्मीको सुझावमा सीताले २०५० सालमा नेपाल ट्रेड युनियनको सदस्यता लिइन्। तर, उनलाई राजनीतिमा सक्रिय हुने मन थिएन । अवस्था नै त्यस्तै थियो, उनी गलैँचा बुन्ने कामबाहेक अर्को कल्पना पनि गर्दिनथिन्। ‘अब त्यतिबेला कसरी राजनीति गरेर हिँड्नु एउटा गलैँचा बुने अलि बढी आम्दानी होला कि भन्ने लाग्थ्यो,’ सीताले सुनाइन्।

तर, नेताहरूले उनमा धेरै सम्भावना देखेका थिए, त्यसैले पछ्याउन छोडेनन् । उनलाई अझै जिम्मेवार बनाउन क्षेत्रीय कमिटीमा राखियो । त्यसपछि उनले कारखानाका कर्मचारीको नेतृत्व गर्न थालिन् । त्यतिबेला कारखानाभित्र राजनीति गर्न धेरै जोखिम थियो । साहुले थाहा पाए कारबाही गर्थे । कारखानमा राजनीतिक गतिबिधि बढ्न थालेपछि सीताका केही साथीहरू कामबाटै निकालिनु परेको थियो । त्यतिबेला कारखानमा सीताले संगठन राम्रो बनाएकी थिइन् ।

उनका बुबा पनि खाद्य संस्थान कर्मचारी युनियनको अध्यक्ष बनिसकेका थिए तर सीतालाई त्यो कुरा थाहा थिएन। एक दिन सीता एउटा कार्यक्रममा पुग्दा उनका बुबाले श्रमजीवीहरूको पक्षमा निक्कै राम्रो भाषणा गरिरहेका थिए । लेखा/पढी नगरेका आफ्ना बुबाको प्रभावशाली भाषण सुनेर सीता अचम्मित भइन्, सयौं मान्छेको अघि बुबा बोलेको देखेर सीताको मनमा एकखालको ऊर्जा उत्पन्न भयो । आफ्ना बुबा पनि राजनीतिमा लागेको थाहा पाएपछि उनको राजनीतिप्रतिको आकर्षण झनै बढ्यो ।

‘बुबाको भाषणबाट म उत्प्रेरित भएँ । त्यसपछि म पनि बोल्छु भनेर लागिपरेँ । गलैँचा बुन्दाको पीडा सहेर आएकोले मैले पनि केही गर्नुपर्छ भनेर अगाडि सरेँ,’ उनले भनिन्,‘संगठनमा लाग्दा कारखानाले निकाल्छ कि भन्ने डर लागेको थियो । तर, साथीहरूको साथ थियो पछाडि हटिनँ ।’ यो क्रम ०६४ सालसम्म जारी रह्यो । त्यसपछि उनले कारखाना छोड्नु पर्‍यो।

०००

कराँते तथा तेक्वान्दोमा समेत रूचि राख्ने सीता निक्कै हक्की स्वभावकी थिइन्, आफ्नो जिम्मेवारी जस्तोसुकै कठिन अवस्था आए पनि पूरा गरेरै छाड्थिन् । पार्टीले उनीप्रति धेरै विश्वास राख्थ्यो । राजनीतिमा लाग्दा केही कठिनपूर्ण आन्दोलनमा पनि सहभागी भइन्, त्यही कार्यकुशलता देखेर जिफन्टले उनलाई संगठकको रूपमा लेवनान पठाउने निर्णय गर्‍यो। जतिबेला उनी जिफन्टमा आबद्ध कार्पेट युनियन महासंघको महासचिव थिइन् ।

सीतालाई महिला हकहितको लागि काम गर्न लेवनान पठाइएको थियो । त्यतिबेला त्यहाँ करिब २५ हजार नेपाली महिला कार्यरत थिए । उनीहरूलाई सक्षम बनाउने र उनीहरूका समस्या समधानको लागि उनले काम गर्नुपर्ने थियो । उनले त्यहाँ श्रमसम्बन्धी काम गर्ने फिनासल्ट र जिफण्टसँग मिलेर अन्तर्राष्टिय श्रम संगठनसँगको सहकार्यमा काम गरिन् । ‘त्यहाँ मैले जिरोबाट सुरु गरेर ६७ जना सदस्य बनाएँ, केही शव नेपाल ल्याएँ। त्यहाँ अरविक बोलिन्थ्यो, त्यहाँ मलाई धेरै च्यालेञ्ज थियो । त्यतिबेला त्यहाँ नेपालीलाई जान प्रतिबन्ध लगाइएको थियो । त्यहाँ नेपाली दूतावास थिएन, इजिप्टको कायरोमा थियो दूताबास। मैले कुशलताका साथ काम गरेँ,’ उनले भनिन्।

उनले करिब दुई वर्षको अवधिमा धेरै काम गरिन्, त्यहाँ उनलाई जेल हाल्ने सम्मको प्रयास भयो । उनले त्यहाँ अति नै कठिन परिस्थितिमा काम गरिन् । पछि त्यहाँका संठगनसँग काम गर्दागर्दै उतै बसेर काम गर्ने अवसर पनि मिलेको थियो तर उनी नेपाल फर्किन् किनभने विदेशमा नेपालीहरुकाे समस्या समाधान गर्नुभन्दा पनि नेपालबाट विदेश जान नपर्ने अवस्था मिलाउन सकियो भने राम्रो हुने थियो भन्ने उनको मनमा लागेको थियो । 

०००

उनी नेपाल फर्केपछि २०७४ सालमा चुनाव भयो । उनी समानुपातिकबाट बागमती प्रदेश सांसद बनिन् । त्यसयता प्रदेशसभामार्फत् श्रमजीवीको पक्षमा आवाज उठाउँदै आएकी  उनले केही महत्वपूर्ण काम पनि गरेकी छन्।

हाल उनी बागमती प्रदेश सांसद, जिफन्टको केन्द्रीय कमिटी, शिक्षा विभाग कमिटी र महिला विभाग कमिटीमा रहेर काम गरिरहेकी छिन् । राजनीतिमा सक्रिय रहँदारहँदै मास्टर डिग्रीसम्मको अध्ययन पूरा गरेकी उनी पीएचडीको तयारीमा छिन् । अरू कुरामा आफू जति नै सक्रिय रहे पनि श्रम गर्न नछाड्ने सीता भन्छिन्, ‘म सबै कुरा छाडेर राजनीतिमा लागेको होइन। सबै कुरा छाडेर राजनीतिमा लागेर कसरी बाँच्ने ? त्यसैले पहिला त श्रमसँग जोडिनुपर्‍यो, त्यसपछि बचेको समय संगठनलाई दिने हो,’ उनले भनिन्।

हो, उनकाे भनाइ नै छ, ‘जहाँ पुगे पनि श्रम गर्न नछोड्नु होस्।’

मानिसले कर्म गर्दै गए पद/प्रतिष्ठा आफैं आउने उनी बताउँछिन्। ‘पद भनेको छायाँ जस्तै रहेछ, जसरी आफ्नो छायाँलाई अलग गर्छु भनेर तपाईं सक्नुहुन्न। उज्यालोको प्रकाश जतातिर परेको छ छायाँ त्यतैतिर हुन्छ । मध्यान्ह १२ बजे मात्रै छायाँले आफैँलाई किच्छ। हो पद भनेको त्यस्तै रहेछ निरन्तर काम गर्दै गएपछि सँगै सँगै झुण्डिएर आउने । मलाई यो चाहियो त्यो दे भनेर माग गर्न नपर्ने रहेछ।’

०००

यसरी निरन्तर संघर्ष गरेर घरपरिवार, समाजसँगै हजारौं श्रमजीवीलाई उनले खुशी बनाएकी छिन् । छोरा नजन्माएको भन्दै आफ्नो आमा-बुबालाई अपहेलित गर्ने समाजलाई गतिलो झापड हानेकी छन् । उनले कहिलै पनि आफ्ना बुबा-आमालाई छोराको अभाव महसुस हुन दिइनन् । उनले आफ्ना बहिनीहरूलाई पनि सही मार्गमा हिँड्न सिकाइन्, उनीहरू पनि राज्यका महत्वपूर्ण तहमा रहेर काम गरिरहेका छन् । त्यसैले त उनी भन्छिन्- छोरा होस् वा छोरी दुबै बराबरी । श्रम गर्ने मान्छेलाई समाजको कुनै विभेदले रोक्न सक्दैन ।

प्रकाशित मिति: : 2022-08-19 07:00:00

प्रतिकृया दिनुहोस्