अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न अनुरोध

रासस

हेटाँैंडा

वाग्मती प्रदेश कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न र गराउन अनुरोध गरेको छ। 

समितिको बैठकपछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा औषधि, खाद्यवस्तु, इन्धन, खानेपानी र दूध जस्ता अत्यावश्यक सामग्री  ढुवानी गर्न तथा गराउन अनुरोध गरेको हो। 

बैठकले अत्यवश्यक काममा बाहेक आवतजावत तथा हिँडडुल नगर्न तथा गर्न नदिनसमेत अनुरोध गरेको छ। 

मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा औषधोपचार, खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक कामबाहेक  कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी सवारी साधन सञ्चालन नगर्न र नगराउन, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा नियमित रुपमा सञ्चालन गर्न तथा गराउन अनुरोध गरिएको छ।
 
यसैबीच सरकारले घोषणा गरेको लकडाउनको पहिलो दिन मकवानपुरको जनजीवन सामान्य रुपमा बितेको  प्रहरीले जनाएको छ। लकडाउन अटेर गरेर बजार घुम्न निस्केका  ३८  मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: : 2020-03-25 09:41:22

प्रतिकृया दिनुहोस्