नेपाली चिकित्सकको एसएमएलई परीक्षाको स्कोर रद्द प्रकरण–४

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा ‘युएसएमएलई–नेपाल प्रकरण’मा कदम चाल्ने आश्वासन

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी सिनेटमा बहुमतप्राप्त दलका नेता सिनेटर चार्ल्स शुमरले अमेरिका आइसकेका नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णयबाट उनीहरू मारमा परेको भए त्यसबारे बुझेर उचित कदम चाल्ने बताएका छन्।

न्युयोर्कका सिनेटर चार्ल्स शुमरसँग न्युयोर्कस्थित नेपाली समुदायका प्रतिनिधिहरूले आयोजना गरेको राउण्डटेबल छलफलका क्रममा नेपाली कानून व्यवसायी खगेन्द्र क्षेत्रीले यो विषयलाई महत्वका साथ प्रस्तुत गरेपछि सिनेटर शुमरले यस्तो भनाइ राखेका हुन्।

राउण्ड टेबलमा कानून व्यवसायी क्षेत्रीले नेपाली चिकित्सकलाई मात्र निशाना बनाएर करिब आठसय चिकित्सकको युएसएमएलई स्कोर रद्द गरेर चालिएको यो कदम विभेदकारी भएको उल्लेख गर्दै यसलाई सच्याउन आवश्यक कदम चाल्न सिनेटर शुमरलाई आग्रह गरेका थिए। 

युएसएमएलई गरेर अमेरिकामा जे वान वा एच वान बी भिसामा रेसिडेन्सी गरिरहेका नेपाली चिकित्सकको स्कोर रद्द भएपछि उनीहरू अध्यागमन स्टाटस परिवर्तन गर्नुपर्ने वा फर्कने बाध्यतामा परेको उल्लेख गर्दै  कानून व्यवसायी क्षेत्रीले यसबाट उनीहरू मानसिक दबाबमा परेको बताए।

पीडित चिकित्सकहरूको तर्फबाट न्यायका लागि युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा निवेदन दिइएको र त्यसमाथि प्रारम्भिक सुनुवाई भई दुबै पक्षलाई आफ्नो भनाइ राख्न समय मिलेको जानकारी दिदै कानून व्यवसायी क्षेत्रीले उनीहरूले न्याय पाउँने आशा राखेको बताए।

नेपालको प्रोमेटिक सेन्टरमा लिइएको युएसएमएलई परीक्षाको स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णयबाट समस्त नेपाली चिकित्सक र नेपालको छवि नै नराम्रो बनेको बताउँदै यो दुई देशबिचको विषय भएकाले अमेरिकी सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा पनि कानून व्यवसायी क्षेत्रीले आवाज उठाएका थिए।

चक शुमर नेपाल र नेपालीप्रति शुभेच्छा राख्ने सिनेटरका रूपमा परिचित छन्। उनकै प्रयासले २०७२ सालमा नेपालमा गएको भूकम्पबाट प्रभावित परिवारका सदस्यका लागि अमेरिकामा अस्थायी रूपमा बसोबासका लागि टीपीएस प्रदान गरिएको थियो। अझै पनि त्यो टिपीएसको व्यवस्था यथावत रहेको छ। यसबाट झण्डै १५ हजार कागजपत्रविहीन नेपालीले अमेरिकामा बस्ने कानूनी आधार पाएका छन्। 

यी समाचार पनि पढ्नुहोला:
सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

प्रकाशित मिति: : 2024-02-18 22:40:00

प्रतिकृया दिनुहोस्