मध्यविन्दुका सबै वडामा क्वारेन्टाइन

रासस

नवलपुर

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि मध्यविन्दु नगरपालिकाले सबै वडामा क्यारेन्टाइन निर्माणको काम थालेको छ। 

कोभिड–१९ को त्रास बढेसँगै बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका १५ वटै वडामा क्यारेन्टाइन निर्माण गर्ने काम शुरु गरेको नगर प्रमुख चन्द्रबहादुर रानाले बताए।

नगरपालिकाका अरुणखोला, चोरमारा, कोल्हुवालगायत ठाउँमा क्वारेन्टाइन निर्माण गरिसकिएको उल्लेख गर्दै नगर प्रमुख रानाले सम्बन्धित वडामा रहेका विद्यालय, क्याम्पस तथा सार्वजनिक भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको बताए। 

'वडामा नगरपालिकाले क्वारेन्टाइन निर्माण गरिदिए पनि त्यहाँ खाने व्यवस्था भने व्यक्ति स्वयंले गर्नुपर्छ', रानाले भने, 'मास्क, स्यानिटाइजर, खानेपानी तथा आवश्यक पर्ने औषधि भने उपलब्ध गराएका छौँ।'

 कोरोना नियन्त्रणका लागि आवश्यक सामग्री खरीद गर्न विपद् व्यवस्थापन कोषमार्फत रु १३ लाख छुट्याएर आवश्यक पर्ने औषधिजन्य सामग्री खरीद गरिएको छ।

 प्रत्येक वडामा अनुगमन तथा व्यवस्थापन समिति गठन गरेर भारत एवं तेस्रो मुलुकबाट आएका नगरवासीको तथ्याङ्क राख्ने कामसमेत भइरहेको रानाले बताए। 

पहुँचअनुसार चौबीसै घण्टा प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएकोसमेत उनको भनाइ छ। नियन्त्रणका लागि स्थानीयवासी नै सचेत हुनुपर्छ भन्दै उनले सचेतनामूलक कार्यक्रम गरिएकोसमेत जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-26 02:07:00

प्रतिकृया दिनुहोस्