झापामा लकडाउन प्रभावकारी

रासस

भद्रपुर

नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
     
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताए। 

'सबैले लकडाउन हाम्रै लागि हो भनेर सरकारी आदेशको पालना गरिरहेकै छन्', उनले भने, 'हिजो अली उल्लङ्घन भएको थियो, आदेश नमान्नेका सवारी साधान नै नियन्त्रणमा लिएपछि आज पूर्ण पालना भएको छ।'

प्रवक्ता श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताउँदै किराना पसल, पेट्रोलपम्प, दूध डेरीलगायतका अत्यावश्यक पसललाई खुल्न दिइएको जानकारी दिए। 

कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले झापाका १५ स्थानीय तहमा विगत सात दिनदेखि विदेशबाट आउने व्यक्तिको लगत सङ्कन गरिरहेको बताए। 

उनले सामाजिक सञ्जालमै विभिन्न वडाका टोल विकास समिति, पूर्वप्रहरी, जनप्रतिनिधि र स्थानीयवासीलाई १५ दिनअघिदेखि विदेशबाट आएका व्यक्तिका बारेमा प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्।
 
उपरीक्षक कोइरालाले सामाजिक सञ्जालमार्फत नै वर्तमान अवस्थालाई बुझेर आफू सुरक्षित रहन र सुरक्षित गराउनसमेत उनीहरुलाई अनुरोध गरेका छन्। 

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले सरकारले घर बाहिर हिँडडुल नगरी सात दिनसम्म सुरक्षित बस्न दिएको आदेशलाई झापाली सचेत नागरिकले स्वागत गरेको बताए।

विदेशबाट आएकालाई घर–घरमा स्वास्थ्य जाँच

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालभन्दा बाहिरबाट आएका आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरघरमै खटाएको छ।

 गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट (पिपीइ) र माक्स लगाएर उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गापा अध्यक्ष रमेश भुजेलले बताए। उनका अनुसार गापाका विभिन्न वडामा कतार, दुबई, इटाली र बैङ्लोरबाट आएका व्यक्ति छन्।
 
'हामीले १० थान पिपीइ काठमाडौँबाट मगाएर सुरक्षित तवरले स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएका छौँ', उनले भने, 'दुई दिनभित्रमा २० जना विदेशबाट आएका व्यक्ति सम्पर्कमा आएका छन्। उनीहरुको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको छ र बैङ्गलोरबाट आएका छ विद्यार्थीलाई एउटा खाली घरमा क्वारेन्टाइन बनाएर राखेका छौँ।'

अध्यक्ष भुजेलले सार्वजनिकस्थल तथा सवारी आवागमन हुने स्थानमा क्लोरिन (किटनाषक औषधि) छर्कन आवश्यक रहे पनि औषधि अभावमा छर्न नसकेको बताए।
 

प्रकाशित मिति: : 2020-03-26 02:41:12

प्रतिकृया दिनुहोस्