कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन

रासस

जनकपुरधाम

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिएका थिए। साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए।

उक्त बैठकमा निमित प्रमुख सचिव नारायण दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो। 

यसैबीच, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ। सो समितिमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि छन्। 

सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइनस्थित आयुर्वेद मेडिकल कलेजमा ५०, जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० र जानकी मेडिकल शिक्षण अस्पतालमा ६० श्ययाको क्वारेन्टाइन स्थापना गर्न लागिएको जानकारी गराएको छ। साथै वीरगञ्ज, सिरहाको धनगढी, सप्तरी र रौटहत जिल्लामा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन थालिएको छ। 

प्रकाशित मिति: : 2020-03-26 03:00:53

प्रतिकृया दिनुहोस्