पाल्पामा ११८ बेडको क्वारेन्टाइन

रासस

पाल्पा

जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ। 

विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए।

उनले विदेशबाट आएका नागरिकलाई अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गरे। क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटिने छन्।

क्वारेन्टाइन निर्माणमा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता श्रेष्ठ, अधिकृत यादव अर्याल, स्वास्थ्य क्षेत्रका कर्मचारी र स्थानीय बासिन्दा खटेका छन्। 

कोरोना भाइरसको जोखिम रहेकाले तत्कालका लागि १० शय्याको क्वारेन्टाइन स्थल निर्माण गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले अझै बिस्तार गरिने जानकारी दिए।

यसैबीच तानसेन, रामपुर, माथागढी, रम्भा, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा क्वारेन्टाइनका लागि शय्या तयार भएको छ। 

तानसेन नगरपालिका बर्तुङ्स्थित जनप्रिय माविमा १५ शय्या तयार भएको छ। रामपुरको बालकल्याण प्राविमा २० शय्याको क्वारेन्टाइन तयार भएको छ। 

जिल्लाकै बगनासकाली गाउँपालिकाको चापपानीस्थित चन्द्र माविमा २० शय्याको क्वारेन्टाइन बनेको छ। माथागढी गाउँपालिका–३ सराईस्थित दिव्यज्योति नमूना माविमा १५, रम्भाको ताहुँस्थित रम्भा माविमा ५० र रिब्दीकोट गाउँपालिकाको कुसुमखोलास्थित सरस्वती माविमा १८ शय्याको क्वारेन्टाइन तयार भएको छ।

प्रकाशित मिति: : 2020-03-27 01:32:48

प्रतिकृया दिनुहोस्