सङ्क्रमण कम गराउन एकै समय सामूहिक ध्यानको आह्वान

रासस

काठमाडौँ

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण कम गराउन सामूहिक चेतना अभिवृद्धि गराउने उद्देश्यले सामूहिक ध्यानमा सहभागी हुन आह्वान गरिएको छ।

 नेपाल महर्षि वैदिक फाउन्डेशन र नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेशनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिँदै जनतामा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि मनलाई शान्त र शरीरलाई गहिरो विश्राममा राख्न घरमै बसेर सामूहिक ध्यान गर्न आह्वान गरेको हो।

जुनसुकै ध्यानसाधनाको अभ्यास गर्ने साधकलाई आजदेखि बेलुकी र बिहान ठीक ५ बजे घरमै बसेर सामूहिक ध्यानमा सहभागी हुन आह्वान गरिएको फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र डिभाइन अर्गनाइजेशनका अध्यक्ष कल्पना घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
यी दुई संस्थाले भने भावातीत ध्यानको अभ्यास गराउने गरेका छन्। यो अभ्यास हाल विश्वका १९२ देशमा हुने गरेको छ। ती देशमा पनि विश्व शान्ति राष्ट्रको आह्वानमा आजैदेखि सामूहिक ध्यान हुन लागेको जनाइएको छ। समय भने ती देश अनुकूल गरिने छ।

सबै ध्यान साधनाको उद्देश्य व्यक्तिमा सुख, शान्ति र विश्वकल्याण भएकाले सङ्कटको घडीमा एक भएर सामूहिक रुपमा सात्विक शक्तिको वृद्धि गर्न यस्तो आह्वान गरिएको हो। यसबाट राष्ट्रिय चेतना अभिवृद्धिमा सहयोग पुगी यसविरुद्ध लड्ने शक्ति प्राप्त हुनेछ। रोग निरोधक शक्ति सञ्चयमा पनि सामूहिक ध्यानले सहयोग गर्ने छ।

भावातीत वैदिक गुरु परम्पराबाट आएको ध्यान विधि हो। ऋग्वेदको १० औँ मण्डलमा यस विषयमा व्याख्या गरिएको छ। लकडाउनमा घरमै बसेका मानिसमा हुने चिन्ता एवं मानसिक अशान्ति कम गर्न पनि एकै समयमा सबै विधिका मानिसले गर्ने ध्यानले सहयोग गर्ने फाउन्डेशनको विश्वास छ।

भावातीत ध्यानमाथि युरोप र अमेरिकामा भएको वैज्ञानिक अनुसन्धानले एकै समयमा ध्यानीले साधना गर्दा नकारात्मक तत्व हटाई सकारात्मक ऊर्जा प्रदान गर्न सफल भएको जनाइएको छ। तेत्तीस देशका १५० विश्वविद्यालयमा भावातीत ध्यान साधनामाथि वैज्ञानिक अनुसन्धान गरिएको थियो।

 यसबाट विश्व शान्तिका लागि पनि योगदान पुग्ने तथ्य प्रमाणित भएको अध्यक्ष बाँस्कोटाले बताए। विश्वका १९२ देशमा ६० लाख मानिसले भावातीत ध्यानसाधनाको दैनिक बिहानबेलुका दुई पटक अभ्यास गर्छन्।

 यसैगरी नेपालमा १० हजार मानिसले दिनमा दुई पटक ध्यान गर्ने गरेको फाउन्डेशनका ध्यान तथा सिद्धि शिक्षक मीनराज अधिकारीले राससलाई जानकारी दिए।

 सङ्क्रमण रोक्न  सहस्र चण्डी

कोरोनाको सङ्क्रमण अन्त्य गरी विश्वभरका मानव समुदायमा शान्ति स्थापना गराउने सङ्कल्पले चैत्र नवरात्रका अवसरमा फाउन्डेशनले देशभरका ९५ गुरुकुलबाट आजदेखि सहस्र चण्डी पाठ शुरु गरेको पण्डित अभिमन्यु नेपालले बताए। 

दश दिनमा हजार आवृत्ति पाठ पूरा गरी हवनसमेत गरिने जनाइएको छ। फाउन्डेशनले विश्व शान्तिको सङ्कल्पले विसं २०७० माघदेखि गुरुकुलमा वैदिक रुद्राभिषेकसमेत गरिरहेको छ। वैदिक रुद्राभिषेकमा पनि हाल देशभरबाट ९५ गुरुकुलका वटुक सहभागी छन्। 

प्रकाशित मिति: : 2020-03-27 07:44:11

प्रतिकृया दिनुहोस्