भारतीय जम्मु-कश्मिर क्षेत्रको पहलगाममा भएको आतंकवादी आक्रमणप्रति नेपाल सरकारले पनि निन्दा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टा छुट्टै वक्तव्य जारी गरेर घटनाको निन्दा गरेका हुन्।
मंगलबार त्यहाँ घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले आक्रमण गरेका थिए। त्यो आक्रमणमा लगभग २६ जना मानिस मारिएको बताइएको छ। गम्भिर घाइते भएका १६ जनाको उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ। घटनामा २ जना नेपालीसहित अन्य विदेशीहरू मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर नेपाली अधिकारीहरूले त्यसको स्वतन्त्र पुष्टी गरिसकेका छैनन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गरेका छन्।
‘भारतको पहलगाममा भएको आतंकवादी हमलाका क्रममा निर्दोष व्यक्तिको ज्यान गएकोप्रति हाम्रो गहिरो दु:ख छ’ राष्ट्रपति पौडेलले भनेका छन् ‘यस्ता हिंसात्मक कार्य निन्दनीय छ। आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना…।’
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत उक्त घटनाको निन्दा गर्दै नेपाल सधै आतंकवादका विरुद्ध दृढतापूर्वक उभिएको बताएका छन्।
‘नेपाल सधैं भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका हरेक क्रियाकलापहरूको कडा निन्दा गर्दछ’ प्रधानमन्त्री ओलीले भनेका छन्।
घटनामा नेपाली पनि मारिएको भन्ने खबरहरूको स्वतन्त्र पुष्टि गर्नका लागि प्रधानमन्त्री ओलीले नेपाल र भारतका कुटनीतिक नियोगका अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।
उक्त घटनाको विश्वका विभिन्न राष्ट्रहरूले पनि निन्दा गरेका छन्। पहलगाम जम्मु-कश्मिरको पर्यटकीय स्थल हो। यहाँ हरेक दिन हजारौ पर्यटक पुगिरहेका हुन्छन्। मंगलबार आतंकवादीहरूले त्यहाँ पुगेका पर्यटकहरूलाई छानीछानी आक्रमण गरेका थिए।
घटना भएकै दिन युनियन गृहमन्त्री अमित शाह पनि त्यहाँ पुगेका थिए।
साउदी अरब भ्रमणमा गएका प्रधानमन्त्री मोदी पनि भ्रमण सकाएर बुधबार बिहानै दिल्ली फर्किसकेका छन्। दिल्ली पुग्नासाथ उनले आकष्मिक सुरक्षा संयन्त्रको बैठक बोलाएका थिए। त्यहाँ उनलाई घटनाबारे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ब्रिफिङ गरेका थिए।
मोदीले यो घटनाको निन्दा गर्दै दोषी कसैलाई पनि छुट नदिने र उसको विनाश गरिने चेतावनी दिएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। यो भनेको लस्कर-ए-तायबाका एकजना संस्थापक हाफिज साइदले नेतृत्व गरेको आतंकवादी संगठन हो।