सुर्खेतमै उत्पादन गर्न थालियो पीपीई

रासस

सुर्खेत

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ। 

कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन्। 

पीपीईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना आशङ्कित बिरामीसँग संसर्ग गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई औषधि दिएर मात्र पठाउने गरिएको छ। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काठमाडौँमा हालसम्म उपलब्ध नभएको र विदेशबाट आउन समय लाग्ने भएकाले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको हो। 

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरु गरेको गार्मेन्ट सञ्चालकले जनाएका छन्। 

मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तयार गरिरहेको जानकारी दिए। 

लकडाउनका कारण कच्चा पदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ। 'हालसम्म २०० थान तयार गरिसकेका छौँ, प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गर्दैछौँ', सञ्चालक खड्काले भने। नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-03-28 01:46:18

प्रतिकृया दिनुहोस्