कालीपारी नेपालमा कोरोना त्रास र घर फर्किनेकाे आश

श्याम भट्ट

कञ्चनपुर

धेरैलाई थाहा छ, महाकाली सुदूर नेपाललाई भारतसँग छुट्याउने प्रमुख नदी हाे। तर कम नेपालीलाई थाहा हाेला, कालीपारी पनि नेपाल छ, ५७ वर्गमिटरमा फैलिएको। पुरानो दोधारा–चाँदनी र अहिलेको महाकाली नगरपालिकाका रूपमा।

झण्डै ३० किलोमिटर भारतसँग खुला सीमा रहेको यो ठाउँको भारततर्फको प्रमुख शहर हाे, खटिमाको इस्लाम नगर। जहाँ एकै परिवारका ८ जनालाई कोरोना भाइरसकाे लक्षण भेटिएपछि उनीहरू हाल ‘आइसोलेसेन’ मा बसेका छन् भने इस्लाम नगर पुरै ‘सील’ छ।

यस्तै महाकाली नगरपालिकामा बसाेबास गर्ने स्थानीय बब्लु सुनार गत चैत ४ मा कतार एयरवेजबाट उडेर नेपाल भित्रिए। काठमाडौंबाट ६ गते घर आइपुगेका उनले ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको दाबी गरेका थिए। तर, उनकाे दाबीमाथि विश्वास नभएपछि स्थानीयकाे दबाबका कारण उनलाई स्थानीय प्रशासनले महाकाली अञ्चल अस्पतालको ‘आइसोलेसन’ वार्डमा भर्ना गर्न खाेजेकाे थियाे। उनकाे लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएकाे थियाे। तर, उनले बस्न नमानेपछि घरमै ‘सेल्फ आइसाेलेसन’ मा राखिएकाे छ। तर, यसले गाउँनै आतंकित बन्न पुगेकाे छ। हाल अञ्चल अस्पतालमा पाँच जना छन्। जसको नमुना काठमाडौं पुर्‍याइएको छ, परीक्षणका लागि। 

यस क्षेत्रबाट प्रदेशसभा प्रतिनिधि रहेका मानबहादुर सुनार घरमै ‘लकडाउन’ छन्। भन्छन्, ‘त्रास छ भने कसरी नभन्ने? यहाँबाट भारतको उत्तराखण्डको उद्यमसिंह नगर र उत्तर प्रदेशलाई छुने परम्परागत आठवटा बाटो छन्। सीमा खुला छ। अहिले त मानिस खुलाबाट पनि आउन थालेका छन्। त्यसैले डर त हुने नै भयो। तर, हामी पनि चनाखो बसेका छौं। आएकाहरूको ज्वरो नापेर गड्डाचौकी नाकामा पुर्याउने गरेका छौं। महाकाली नगरपालिकाबाट सदरमुकाम जोड्ने एशियाकै दोस्रो लामो झुलुङ्गे पुलमा निगरानी बढाएका छौं।’

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टका प्रहरी निरीक्षक रामसिंह भण्डारीका अनुसार पोस्टमा रहेको ३५ जनाको जनशक्तिलाई १७ वटा प्रमुख ठाउँमा राखेर निगरानी बढाइएको छ। म आफू पनि दौडेको छु। स्थानीयका खेत भारतीयका खेतसँग जोडिएका छन्। खेतबाट आउनेले तनाव बढाउँछन्।’ 

‘लकडाउन’ पछि मंगलबार सबैभन्दा बढी ७ सय जना, बुधबार १ सय ७१ र बिहीबार ५५ जना खुला सीमा काटेर यहाँ पुगे। जसमध्ये बढी मध्य र सुदूरपश्चिमका छन् भने पूर्वतिर नुवाकोट र धादिङसम्मका नेपाली थिए। ‘शुक्रबारबाट यो क्रम घट्ने अनुमान गरेका छौं,’ उनले भने। 

महाकाली नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिलबहादुर सिँजाली भन्छन्–‘लकडाउनपछि हिँड्दै आउनेका लागि यो बाटो सजिलो छ। मुख्य नाकामा रहेको महाकाली पुल बन्द हुनाले भारतीय सुरक्षाकर्मीले नेपालीलाई यो बाटो देखाइरहेका छन्। नआउ भनेर नेपालीलाई भन्न पनि त मिलेन।’

उनकाे भनाईमा नगरपालिका सक्रिय छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहयोगमा आएकालाई जाँच गरेर गड्डाचौकी नाकामा बुझाइएकाे छ। ‘हामीले गर्नेसम्म काम गरेका छौं तर नगरपालिकामा क्वारेन्टाइन छैन’, उनले भने।  

कोरोनाकाे प्रभाव भारतमा बढ्दै जाँदा नेपालतर्फ लश्करका लश्कर नेपाली आफ्नो गाउँ भित्र्ने क्रम बढ्दाे छ। यसले गाउँलेमा पनि डर पैदा गरेकाे छ। स्थानीय वासिन्दा दिलबहादुर सिंह भन्छन्, ‘के गर्नु? ती नेपाली दाजुभाईलाई पनि त घर पुग्नु छ आफ्नो।’

तर, खुला सीमाका कारण जहिले पनि संवेदनशील रहेको यो क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी नभएकोमा भने उनको गुनासो छ। भन्छन्, ‘सरकार यो क्षेत्रमा व्यवस्थित सीमा सुरक्षाको व्यवस्थामा पहिले नै चनाखाे हुनुपर्ने हाे। यसरी क्वारेन्टाइनमा नबसी सबै गाउँ पस्ने हाे भने जाेखिम त हुन्छ नै,’ उनले भने। 

 

प्रकाशित मिति: : 2020-03-28 10:45:00

प्रतिकृया दिनुहोस्