हेटौँडामा ग्यास अभाव

रासस

हेटौँडा

वाग्मती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर  जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको छ। 

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको लक डाउनले बजारमा सहजरुपमा ग्यास उपलब्ध नभएको उपभोक्तहरुले गुनासो  गरेका छन्। 

ग्यास बिक्रेताले ग्यास अभाव रहेको र ग्यास उद्योगमा थप ग्यास नआएकाले आ–आफ्ना पसल बन्द गरेको बताएका छन्। लक डाउनले बाहिर निस्कने अवस्था नरहेको र ग्यास अभाव भएको उपभोक्तलाई समस्या परेको ग्यास बिक्रेता नवीन अधिकारीले बताए।

उता नेपाल आयल निगम अमलेखगञ्ज डिपो कार्यालका प्रमुख भरत रेग्मीले आवश्यकताभन्दा बढी ग्यास  सिलिण्डर राख्ने कारणले समस्या भएको बताए। 

उनले वीरगञ्ज नाकाबाट दैनिक ३० देखि ४० ग्यास बुलेट आइरहेको र बिक्रीवितरण प्रणाली व्यवस्थित गरेमा समस्या नहुने बताए।

लक डाउनले होटेलहरु बन्द भएको र ग्यास बुलेटका चालक तथा सहचालकलाई आफ्नो अमलेखगञ्जस्थित डिपोमा निःशुल्क खाना खुवाउने गरेको प्रमुख रेग्मीले जानकारी  दिए।

त्यसैगरी हेटौँडामा पम्पहरु बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ। हेटौँडामा रहेको एक दर्जन पम्पले पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका छन् तर  डिपो प्रमुख रेग्मीले मौज्दात पूरा रहेको छ भने। 

लक डाउनले हेटौँडा बजार अहिले सुनसान भएको छ। सर्वसाधारण घरमा बसेका छन् भने स्थानीय प्रहरी बजारमा व्यापक रुपमा परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2020-03-28 05:17:25

प्रतिकृया दिनुहोस्