आइतबार, १० मे २०२६

रहस्यमय जासुसकाे कथाले बुनिएकाे चलचित्र ‘टेनेट’

News Image
• • •

निर्देशक क्रिस्टोफर नोलनका सिनेमाहरुका फ्यान एसियाई देशहरुमा पनि प्रशस्तै छन्।

विश्व सिनेमाको करिब ४१ प्रतिशत बजार ओगट्ने भारतमा ब्यापार हुनु भनेको त्यो सिनेमा सुपर हिट हुनु हो। त्यसैले निर्देशक नोलन भारतीय दर्शकको भावना अनुसार सिनेमा निर्माण गर्न खप्पिस छन्। 

केही महिना प्रदर्शित र पंक्तिकारले नेटफ्लिक्समा भर्खर हेरेको उनको यो नयाँ सिनेमा ‘टेनेट’मा बलिउड अभिनेत्री डिम्पल कपाडियाले पनि प्रियाको भूमिकामा अभिनय गरेकी छिन्। 

निर्देशक नोलनको पूर्व प्रदर्शित सिनेमा ‘द डार्क नाइट’ र ‘इन्सेप्सन’ पनि भारतमा सुपर हिट भएको थियो। 

हिन्दीसहित ३० विभिन्न भारतीय भाषाहरुमा ‘डब’ गरिएको यो सिनेमा पनि हिट हुने निर्माण सम्बद्द पक्षले आशा गरेको छ।

‘टेनेट’मा दुई कालखण्डको कथा छ। पृथ्वीलाई बिनास गर्न एक दानव आउने र एउटा रहस्यमय जासुसले उसको यो गतिविधिलाई रोक्न गर्ने प्रयास नै यो सिनेमाको मूल कथा हो। 

यो जासुसको आफ्नो बलियो सन्जाल छ उसको साथीहरु संसारको हरेक कुना कुनामा छन्। यदी तपाईंलाई रुसको रेड स्कवायर र PALINDROME को अर्थ थाहा छ भने यो सिनेमा बुझ्न सजिलो हुन्छ। तर पंक्तिकारलाई यो दुवै कुराको बारेमा जानकारी नभएको कारण सिनेमा हेर्दा त्यती रमाइलो भने लागेन।

यो सिनेमा कुनै एउटा वा दुई वटा कलाकारको वरिपरि मात्र घुम्दैन। फुटबलरबाट अभिनेता बनेका जन डेभिड वासिङ्ग्टन (प्रोटोगोनिस्ट)को रगत मै अभिनय कला रहेको छ। 

उनले यो सिनेमामा पनि आफ्नो गम्भीर अभिनयले दर्शकहरुको ध्यान आफूतर्फ आकर्षित गर्न सफल छन्। त्यस्तै साथी कलाकारहरु रबर्ट पेटिनसन (निल) र दुष्ट दानव सटरको भूमिकामा रहेका केनेथ ब्रनाघले पनि उनलाई राम्रो साथ दिएका छन्। 

यसको साथै यो सिनेमामा बलिउड अभिनेत्री डिम्पल कपडिया (प्रिया) र हिमेस पटेल (महिर)ले पनि अभिनय गरेका छन्। यद्वपी यी दुई भारतीय कलाकारको कुनै ठूलो भूमिका छैन। अन्य सहयोगी कलाकारहरु आफ्नो आफ्नो स्थान मा सामान्य छन्। 

सिनेमामा एउटा ट्याग लाइन छ, ‘डोन्ट ट्राइ टु अण्डर्स्ट्याण्ड इट’, ‘फिल इट’ अर्थात् बुझ्ने कोशिस नगर्नु, महसुस गर्नु र यो सिनेमा पनि बुझेर होइन हेरेर महसुस गर्न सकिन्छ।

यो सिनेमामा कलाकारहरुको शसक्त अभिनयको साथै यसको प्राविधिक पक्ष पनि निकै मजबुत छ। लुड्बिङ्ग गोरानसनको सङ्गीत, होइत वन होयेतमाको सिनेमोटोग्राफ़ि, जेनिफर लेमको सम्पादन र स्वयम निर्देशक नोलनको स्क्रिप्ट सबै उत्कृष्ट छन् । 

‘टेनेट’ सिनेमाको विधार्थीको लागि पाठ्यपुस्तक र आम दर्शकको लागि स्वस्थ मनोरन्जनको साधन हो। यो सिनेमा हेर्दा सबै उमेरका दर्शक र बिशेष गरेर बालबालिकाहरुले मज्जाले मनोरन्जन गर्ने छन्। 

यदी तपाईं अंग्रेजी एक्सन सिनेमाको पारखी हुनु हुन्छ भने यो सिनेमा अवश्य हेर्नुहोला।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!