कनकासुन्दरीका बाटा बन्द

रासस

सिंँजा

यस वर्ष विश्वभर कोरोनाको त्रास भएपछि बाहिर रोजगारी र व्यवसाय गर्न गएका मानिसहरु आफ्नो गृह जिल्ला आउने क्रम बढ्दै छ। 

जुम्लाको सिंजा भेग एक पर्यटकीय क्षेत्र भए पनि रोजगारी नभएकाले यहाँका मानिस व्यापार व्यवसायका लागि छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकसम्म पुग्ने गर्छन्। मङ्सिर महिना जाने र चैत महिना आफ्नो गृह जिल्ला फर्कने उनीहरुको पुरानै चलन पनि  हो।

कतिपय मानिस बाह्रै महिना जिल्ला बाहिर बसेर व्यवसाय पनि गर्छन्। स्थानीयवासी जनक हमालले  कोरोना सङ्क्रमणको जोखिमका कारण सरकारले देश नै लकडाउन गरेपछि यहाँका बासिन्दा रातमध्यरात नभनी आफ्नो घरमा पुग्ने गरेका छन्। 

यहाँका बासिन्दा बाहिर जिल्लाबाट आउने गरेकाले एकार्काका घरमा नजाऊन् र केही रुपमा उनीहरुलाई बन्देज होस् भनेर कनकासुन्दरी गाउँपालिका – ५ लुड्कु गाउँका युवाले आवतजावत गर्ने मूल बाटो नै बन्द गरेका छन्। मूल बाटो जुवा र काँडाले बारिएको छ।

स्थानीयवासी उपेन्द्र न्यौपानेका अनुसार यही चैत २५ गतेसम्म एक घरबाट अर्काे घर नजाने तथा छोरीबहिनी, इष्टमित्र कसैलाई पनि लुड्कु गाउँमा प्रवेश गर्न निषेध गरिएको छ।
 
 गाउँपालिकास्थित कोटघर स्वास्थ्यचौकीमा १० क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ। जिल्ला बाहिरबाट आएका स्थानीयवासीलाई सहजै आफ्नो घरमा बस्न नदिएर १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको स्वास्थ्यकर्मी दामोदर आचार्यले बताए। 

उनले भने, 'हाडसिंजा स्वास्थ्यचौकीमा पनि १० बेडको क्वारेन्टाइन बनाएको छ। कोरोना भाइरसबाट बच्न यहाँका मानिसलाई  एक घरबाट अर्काे घर नजाने, भीडभाडमा नजाने, साबुनपानीले हात धुने र मास्कको प्रयोग गर्ने जस्तो विधि सिकाइएको छ।'

प्रकाशित मिति: : 2020-03-28 05:23:15

प्रतिकृया दिनुहोस्