चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन माग

रासस

काठमाडौँ

नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ। 

सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गरेका छन्।

सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु पनि उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

कोरोना भाइरससँग जुध्न अथक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै मिली यो रोगलाई नेपालमा फैलिनबाट रोक्न र आफ्नो जिम्मेवारी पूरा गरी असल एवम् जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुनसमेत महासचिव डा रिजालले अपिल गरेका छन्।

सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धी अभियानलाई सहज बनाउन सरकारले अझ बढी ठोस कदम चाल्नुपर्ने आग्रह गरिएको छ।

 'तीनै तहसँग समन्वय गरी एम्बुलेन्स सेवाको सहज उपलब्धता लगायत क्वारेन्टाइनको उचित व्यवस्थापनसहित आ–आफ्नो जिम्मेवारीअनुसार काम गराउनु आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सङ्घले स्वास्थ्य संस्थालाई चाहिने अत्यावश्यक सामग्रीको उपलब्धता, सेवाका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका निमित्त सङ्घले अनुगमन गर्ने र सङ्घका शाखा कार्यालयले आफू मातहतका स्वास्थ्य संस्थामा सोही अनुरुप अनुगमन गर्नसमेत आग्रह गरेको छ। 
 

प्रकाशित मिति: : 2020-03-28 05:51:19

प्रतिकृया दिनुहोस्