स्थानीयले नै तयारी गरे पिपिई

रासस

पर्वत

पर्वतको महाशीला गाउँपालिकाले कोरोना संक्रमित परीक्षण गर्दा चिकित्सकले लगाउने प्रसर्नल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) तयार गरेको छ। 
स्थानीय स्तरमा पाईने प्लाष्टिक र कपडाबाट पिपिई तयार गरिएको हो।

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरसबाट संक्रमितहरु तत्काल उपचारका लागि आएको खण्डमा स्थानीय स्तरमै बनेको पिपिई लगाएर परीक्षण गर्न सकिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिए।
 
उनका अनुसार लुंखुदेउराली प्राथमिक स्वास्थ्य चौकीमा अब कोरोना संक्रमित बिरामीहरुको आइसोलेशन वार्डमा राखेर उपचार गर्न सकिने भएको छ। 

महाशीला गाउँपालिकाको पहलमा उक्त सामग्री तयार गरिएको हो। उक्त गाउँपालिकाले चैत १ गतेदेखि हालसम्म विभिन्न मुलुकहरुबाट आएकाको निगरानी बढाएको छ। हालसम्म १५ जना सम्पर्कमा आएको उल्लेख गरिएको छ।

त्यस्तै कुश्मा नगरपालिकाले कोरोना भाईरस संक्रमितको जाँच र उपचारका लागि चिकित्सकले प्रयोग गर्ने पिपिई १२ थान उपलव्ध भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए। पिपिई र मास्क पर्वत अस्पतालका चिकित्सक र अस्थाई कोरोना अस्पतालमा खटिएका चिकित्सकलाई वितरण गरिने भएको छ। 

प्रकाशित मिति: : 2020-03-29 02:37:11

प्रतिकृया दिनुहोस्