स्पेनमा चीनबाट ल्याएका कोरोना परीक्षण कीट नक्कली

लक्ष्मण देवकोटा

ज्युरिच ब्यूराे

स्पेन सरकारले चीनबाट किनेर ल्याएकाे कोरोना भाइरस छिटो पत्ता लगाउने कीट नक्कली भएको बताएपछि फिर्ता पठाउने अभियानलाई तिब्रता दिएकाे छ। स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर इलाले चीनबाट ल्याएर परीक्षण गरिएको किटले पहिलो चरणमै नतिजा अस्वाभाविक देखाएकाे र अनुसन्धान गर्दा कीटहरु कामै नलाग्ने भेटिएको बताएका छन्। 

स्पेनमा कोरोना भाइरसको महामारी थेगिनसक्नु फैलिएकाे छ। यसैकारण उसले चीनको सेन्जेन बायोइजी कम्पनीसँग कोरोना जाँच्ने कीट, मास्क, पन्जा लगायत स्वास्थ्यकर्मी र बिरामीको निम्ति अति आवश्यक सामाग्री ४ सय ६७ मिलियन डलरमा किन्ने सम्झौता गरेको थियो । 

पहिलो लटमा भएका परीक्षणमा कोरोनाका शंकास्पद बिरामी पनि सामान्य अवस्थाको देखाएपछि स्पेनको माइक्रोबायोलोजी विभागले छानविन गरेकाे थियाे। विभागले चीनबाट आएका कीटमा तीस प्रतिशत मात्रै राम्रोसँग काम गर्न सक्ने क्षमता भएको र सामान नै पूर्ण रुपमा मापदण्ड अनुसार नभएको बताएपछि स्पेन सरकारले चिनियाँ दूतावाससँग सम्पर्क गरेको थियो । 

स्पेनस्थित चिनियाँ दूतावासले सेन्जेन बायोइजी कम्पनी चिनियाँ सरकारबाट पूर्ण रुपमा स्वीकृति पाइनसकेको कम्पनी भएको बताएको थियो । दूतावासको उत्तरपछि स्पेनबाट अहिलेसम्म आएका सामान फिर्ता गर्ने निर्णय गरिएको छ । टेलिभिजनमा बोल्दै स्वास्थ्यमन्त्री साल्भाडोरले चिनियाँ कम्पनी बायोइजीका कीट प्रयोग नगर्न आग्रह गरेका छन् ।

तर स्पेनलाई कीट बेच्ने बायोइजी कम्पनीले भने कीटहरु प्रयोग गर्न नजानेर त्यस्तो नतिजा आएको हुनसक्ने बताएको छ । चिनियाँ सरकारले स्पेनले प्रपोगण्डा गरेको हुनसक्ने बताएको छ । कोरोना संक्रमणका बेला युरोपमा चीनको उपस्थिति नरुचाउने अमेरिकी नीति अनुसार स्पेनले नचाहिँदो हल्ला फिजाएको हुनसक्ने चीनकाे भनाइ छ । 

चिनियाँ कीट नक्कली भएको संचारमाध्यमबाट थाहा पाएर स्पेनमा बसोबास गरिरहेका नेपाली पनि चिन्तित छन् । बार्सिलोनामा रहेका नेपाली इश्वर शर्माले बिएल नेपाली सेवासँग भने, ‘चिनियाँ सामान आज छ, भोलि छैन भन्थे, यस्तो महामारीका बेला पनि नक्कली सामान बेचेर अपराधै गरेछन् ।’

प्रकाशित मिति: : 2020-03-29 19:31:02

प्रतिकृया दिनुहोस्