अलपत्र परेकालाई उद्धार गरी  क्वारेन्टाइनमा राखियो

रासस

अमरगढी

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले अलपत्र परेका सात जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखेको  छ।

 भारतबाट आएर कञ्चनपुरमा अलपत्र परेका गाउपालिका–१ घर भएकी खिमा दमाईसहित उनका चारजना छोराबुहारी, दुई नातिनातिनालाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिए।

भारतबाट आएका उनीहरु चैत ९ गते कञ्चनपुर छोरीको घर पुगेका थिए। छोरीले घरमा बस्न नदिएपछि अलपत्र परेको खबर पाएपछि उनीहरुलाई कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बाट उद्धार गरिएको अध्यक्ष मल्लले बताए।

अहिले उनीहरुलाई गाउँपालिकाद्वारा निर्मित सरस्वती मावि भत्काँडामा रहेको क्वारेन्टाइनमा राखिएको छ। सबैलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राखी खाने बस्नेको पूर्ण प्रबन्ध मिलाइएको गाउँपालिका–१ का अध्यक्ष चेतराज भट्टले  जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-30 00:41:08

प्रतिकृया दिनुहोस्