सुरक्षार्थ खटिने प्रहरीलाई खाजा र पानी

रासस

खोटाङ

 

सक्रिय बचत तथा ऋण सहकारी संस्थाले दिक्तेल बजारमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई आइतबार खाजा तथा पानी उपलब्ध गराएको छ।

 विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमण नियन्त्रण गर्न दिनरात खटिने सुरक्षाकर्मीलाई संस्थाले रु २५ हजार मुल्य बराबरको खाजा तथा पानी उपलब्ध गराएको हो । 

सरकारले घोषणा गरेको लकडाउनको समयमा चौबीसै घण्टा खटिने सुरक्षाकर्मीले पानी समेत खान नपाउने अवस्था रहेकाले खाजा तथा पानी उपलब्ध गराइएको संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए। 

'दिनको चर्को घाम र रातको निन्द्रा नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएका छन्' उनले भने, 'दिक्तेल बजारमा खटिएका सुरक्षाकर्मीलाई मानवीय हिसाबले खाजा र पानी उपलब्ध गराइएको हो।'

सहकारीले उपलब्ध गराएको खाजा तथा पानी जिल्लाभर खटिने सुरक्षाकर्मीलाई वितरण गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

'प्रहरी प्रशासनले राहत लियो भन्ने नबुझ्नुहोला, उहाँहरुले गरेको मानवीय कार्यको सम्मान गरेका हौँ' उनले भने, 'यसले चौबीसै घण्टा सुरक्षार्थ खटिने प्रहरीको मनोबल बढेको छ।'

सुरक्षाकर्मीलाई खाजा र पानी उपलब्ध गराएको सहकारीले जिल्लामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका आफ्ना सदस्यलाई समेत राहत उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ। वि।सं। २०५२ मा स्थापना भएको सहकारीमा ४१५ शेयर सदस्य रहेका अध्यक्ष लयालुले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-30 09:33:06

प्रतिकृया दिनुहोस्