बहसः

थरिथरिका शिवलिङ्ग: दुई हजार वर्षभन्दा लामो भ्रम

२००० वर्षभन्दा लामो भ्रम शिव लिङ्गका बारेमा छ। शिवलिङ्गलाई धेरैले शिवको शिष्न (पुरुष यौन अंग) या शिव–पार्वतीको यौन अङ्गको मिलनको रुपमा बुझ्ने गरेका छन्। यसमा कालान्तरमा, शब्द प्रयोगको सीमितता र लिङ्गको आकृतिले सिर्जना गरेको भ्रमले काम गरेको बुझ्न सकिन्छ।

‘लिङ्ग’ शब्दले चिन्ह, संकेत, लक्षण वा प्रतीक अर्थलाग्छ। बालबालिकामा ‘पुरुष वा महिला’का सबै लक्षणहरु विकास भइसकेका हुँदैनन्। त्यसैले पुरुष हुने हो वा महिला हुने हो भन्ने एउटै स्पष्ट लक्षण ‘यौनअंग’ मात्र छुट्याउन सकिने हुन्छ। योनी(Vegina) भए स्त्री लिङ्गी वा बालिका र 'तुरी' (penis) भए पुलिङ्गी वा बालक भनेर चिनिन्छ‌। 

बालबालिकाहरु वयस्क हुँदै जाँदा अरु लक्षण वा चिन्हहरु विकास हुँदै जान्छ । जस्तो, पुरुष भए दारिजुंगा आउने, सरिरमा मांसपेशी हरु कडा हुने, स्तन नबढ्ने, ‘रुद्रघण्टी’ देखिने आदि। त्यस्तै महिलाभए छाला र सरिर नरम हुने, स्तन बढ्ने, दारिजुँगा नआउने, रजस्वला हुने आदि।

अधिकांश बालक भनेर चिनिने व्यक्तिमा वयस्क हुँदा पुरुषमा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतीकहरु) देखा पर्छन् र बालिकाहरुमा महिलामा हुने लिङ्गहरु देखा पर्छन्। तर, अल्पसंख्यक बालबालिकाहरुमा भने अलिकति फरक तरिकाले लिङ्गहरु (लक्षण वा चिन्ह वा संकेत वा प्रतिकहरु) को विकास हुन्छ। उनीहरुमा बालिकाको यौनअङ्ग भए पनि हुर्कंदा पुरुषमा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन्।

त्यस्तै, बालकको यौनअङ्ग भएपनि हुर्कदा महिलामा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन्। यस्ता व्यक्तिलाई पूर्विय दर्शन अनुसार ‘तेस्रो लिङ्गी’ भनेर भनिएको छ।

यसरी व्यक्ति जन्मिदा पुरुष, महिला वा तेस्रो लिङ्गी हुने चिन्ह वा सङ्केत (अर्थात लिङ्ग) नै ती बालबालिकाको यौन अङ्गबाट मात्र थाहा हुने भएकाले ‘लिङ्ग’ शब्दको प्रयोग यौन अङ्ग खुट्ट्याउन लागि प्रयोग भयो । पछि–पछि यसै सीमित अर्थमा मात्र हुन थाल्यो र मानिसहरुले ‘लिङ्ग’ भनेकै व्यक्तिका ‘यौन अङ्ग’ बुझ्न थाले। अनि शिव लिङ्गलाई शिवको शिष्न (पुरुष जनेन्द्रिय) बुझ्न थाले, जो गलत छ। यसरी गलत बुझाईका कारण शिवलिङ्गका आकार, प्रकार पनि विस्तारै परिवर्तन हुन थाले समयक्रममा।

आधुनिक शिव लिङ्ग यस्ता सम्म पनि बनाइएका छन्ः

अलि पुराना तर २००० वर्ष यताका शिवलिङ्ग यस्ता बनाइएका छन्ः

जब कि, निकै पुराना (ओरिजिनल) शिवलिङ्गहरु यस्ता थिएः

तेसो भए शिव लिङ्ग के को प्रतिक वा चिन्ह हो त?

ऋग्वेदभरि कहीँ पनि शिवको उल्लेख छैन। ऋग्वेदले एघार भिन्न रुद्रबारे उल्लेख गरेको छ। शिवलाई रुद्र पनि भन्ने भएकोले त्यसैलाई शिबारे ऋग्वेदमा उल्लेख भएको भनेर भनिए तापनि यो भ्रम मात्र हो । ती रुद्रशंग पुराणमा उल्लेख ‘शिव’ मिल्दैनन्।

(मेरो बुझाइमा) हुन त शिव कुनै एउटा देवता (वा व्यक्ति) नभै आध्यात्मिक अभ्यासवाट प्राप्त हुने चेतनाको उच्चतम अबस्थाहो, मुक्त अबस्था हो। त्यसैले भगवान बुद्धले निर्वाणको अबस्थालाई ‘शिव’ पनि भन्नु भएको छ। यहि ‘शिव अवस्था’ प्रात्त गर्नका लागि (विज्ञान भैरव तन्त्रका अनुसार) अनेक ध्यान साधना मध्ये एउटा साधना तेस्रो आँखाको ध्यान गर्नु हो। यो तेस्रो आंखा खुल्यो भने ‘शिव’ प्राप्ति हुन्छ भनिएको छ। 

पुराणहरुमा शिवको (तस्विर या मूर्ति वनाउंदा) निधारमा खुलेको तेस्रो आंखा देखाइएको हुन्छ। हुन त पुराणहरुमा हमेशा पुरुषको चित्रमा देखाइएको छ शिवलाई, पितृसत्ताको प्रभाव मान्नुपर्छ। नत्र शिव-अवस्थाको प्राप्ति महिला तथा तेस्रो लिङ्गीलाई पनि हुन सक्छ।

शिवलिङ्गसँग कहिलेकाहीँ फन उठाएको नाग देखाइन्छ। नाग सामान्य अवस्थामा दुष्टताको प्रतीक भए पनि फन उठाएको नागले जागरुकताको सङ्केत गर्छ। मतलव जागरुक भएर तेस्रो आँखाको ध्यान गर्नु भनिएको हो। शिवको अनेक नाम मध्ये एउटा नाम ‘त्रिलोचन’ पनि हो।

तेस्रो आँखा के हो? कहाँ हुन्छ?

कुण्डलिनी यौगिक प्रणाली अनुसार शरीरका ७ चक्रहरुमध्ये छैटौं चक्र अर्थात् आज्ञा चक्रलाई नै तेस्रो आँखा भनिएको हो, जो दुई आँखाको बीचमा तर खप्परको भित्री भागमा हुन्छ भनिएको छ।

यो सामान्यतया बन्द रहन्छ र ध्यान साधनाद्वारा खुल्यो भने मानिसमा सही देख्नसक्ने बुद्धि-विवेक जाग्छ। ज्ञान चक्षु खुल्छ। यो खुलेपछि अनेक सिद्धिहरु प्राप्त हुने र मानिस दु:खवाट मुक्त अवस्थामा पुग्छ भनिएको छ।

वैज्ञानिक रहस्यः

मस्तिष्कको दुई भागको बीच एउटा पीनियल ग्ल्याण्ड हुन्छ। तेस्रो आँखा भनेर यसैलाई दर्शाउँछ। यो पीनियल ग्ल्याण्डको काम एक हर्मोन बनाउने हो जसलाई मेलाटोनिन हर्मोन भनिन्छ । जुन प्राणीहरुको ‘सुत्ने र जाग्ने’ घटना चक्रको सञ्चालन गर्छ।

यो मेलाटोनिन हर्मोनको मात्राले मानिस खुसि हुने वा उदास हुने कुरामा पनि प्रभाव पारेको हुन्छ। अनेकानेक मनोविकारहरु र मानसिक गुणहरुको सम्बन्ध यही हार्मोन्ससँग भएको कुरा वैज्ञानिकहरु बताउँछन्। यो पिनियल ग्रन्थी प्रकाशप्रति निकै संवेदनशील छ त्यसैले पनि होला यसलाई तेस्रो आँखा भनिएको।

पिनियल ग्ल्याण्डको आकार झ्वाट्ट हेर्दा सल्लाको खोया (pine cone)  जस्तो देखिन्छ त्यसैले यसलाई पिनियल ग्ल्याण्ड भनिन्छ तर यो ग्रन्थी रहेको सम्पूर्ण भागलाई हेर्‍यो भने यसको आकार आंखा जस्तो देखिन्छ।

तर यो ग्रन्थि रहेको संपूर्ण भागलाई हेर्यो भने यस्को आकार आंखा जस्तो देखिन्छ।

अनि यस आकृतिलाई माथिबाट हेर्‍यो भने ती ‘ओरिजिनल शिव लिङ्ग’को आकारसँग मेल खान्छ।

यो तलको चित्रमा त झन, खुलेको तेस्रो आँखा (पिनियल ग्ल्याण्ड)वाट रस (हरमोन) पुरा ब्रम्हारन्ध्रमा बगेको देखिन्छ, असिमित आनन्दको अवस्था दर्शाउने, ‘शिव-अवस्था’ को प्राप्तिको सङ्केत। तर, यो तेस्रो आँखाको चिन्ह अर्थात ‘शिव लिङ्ग’ नेपाल-भारतमा मात्र सीमित छैन। भ्याटिकन चर्चमा पिनियल ग्रन्थिलाई महत्वका साथ राखिएको छ।

तर, यो तेस्रो आंखाको चिन्ह अर्थात् ‘शिव लिङ्ग’ नेपाल-भारतमा मात्र सिमित छैन। भ्याटिकन चर्चमा पिनियल ग्रन्थिलाई महत्वका साथ राखिएको छ।

काम्वोडियामा पनि पाइन्छः

A Cambodian Shiva head showing a third eye

इजिप्टमा पनिः

eye of horos, egypt

जोर्डनमा शिवलिङ्गः

हुँदा हुँदा अमेरिकी डलरमा समेत छ तेस्रोआंखाः

अन्त्यमा,

यसरी शिव लिङ्ग’ भनेको कुनै शिव भन्ने पुरुषको यौन अँग होइन, जो लामो समयदेखि भ्रममा पारिएको थियो। ‘शिव’को अर्थ मङ्गल, कल्याण, निर्वाण, मोक्ष भन्ने लाग्छ। त्यसकारण ‘शिव लिङ्ग’ अर्थात खुलेको तेस्रो आँखा भनेको पनि मंगल वा कल्याण वा निर्वाणको प्रतीक वा संकेत वा चिन्ह हो, न कि कुनै पुरषको यौन अङ्ग।

भवतु सब्ब मंगलम्।

(भिक्षु कश्यपको पुरानो नाउँ सुनीलबाबु पन्त हो। उनी पहिलो संविधानसभा सदस्य थिए।)

प्रकाशित मिति: : 2021-09-25 19:41:00

प्रतिकृया दिनुहोस्