कोभिड—१९ : स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

रासस

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

नगर कार्यपालिकाको ६३ औं बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप उनीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगर प्रमुख दिल बहादुर ऐरले बताए।

उनका अनुसार नगरअन्र्तगतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, सवारी चालक, कार्यालय सहयोगी लगायतका कर्मचारीलाई शुरु स्केलको थप २५ प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ। 

कोरोना भाइरस नियन्त्रणका लागि पूर्वतयारी तथा रोगको सङ्क्रमण फैलिन नदिनका लागि रु २० लाखको नगर स्तरीय राहत कोष पनि खडा गरिएको उनले जानकारी दिए। 

भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नगरप्रमुख ऐरको संयोजकत्वमा २९ सदस्यीय मूल समिति समेत गठन गरिएको छ।  नगरपालिकाको दुई ठाउँमा दश शय्याको आइसोलेशन कक्ष समेत स्थापना गरेको छ। 

प्रकाशित मिति: : 2020-03-30 12:22:49

प्रतिकृया दिनुहोस्