धार्चुला नाकामा ‘आफ्नो जनता फिर्ता ले’ भन्दै दुई दिनदेखि नेपाल सरकारविरूद्ध नाराबाजी

श्याम भट्ट

कञ्चनपुर

नेपालको भारतसँग जोडिएको सुदूरपश्चिमको अन्तिम नाका धार्चुलामा अड्किएका करिब साढे पाँच सयभन्दा बढी नेपाली अविलम्ब देश फर्किन पाउनु पर्ने आवाज उठाउँदै आन्दोलनमा उत्रिएका छन्। 

करिब दुई दिनदेखि भारतीय नाकामा अलपत्र परेका ५ सय ५७ जना नेपाली यतिबेला नेपाल सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्। उनीहरू नेपाल सरकारलाई ‘आफ्नो जनता फिर्ता ले’ भन्दै नाराजुलुस गरिरहेका छन्। 

कोरोना भाइरसका कारण भारत २१ दिन ‘लकडाउन’ भएपछि देश फर्किएका नेपालीहरू दार्चुला प्रवेश गर्ने भारतीय नाका धार्चुलामा शनिबारदेखि अड्किएर बसेका हुन्। 
नाकामा आइपुगेका अधिकांश नेपालीले भारतको विभिन्न शहरबाट दुई दिन हिडेर त्यहाँ आइपुगेको बताए। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले शुक्रबार भारतीय पक्षसँग कुरा गरेर २ सय ३५ जना नेपालीलाई भित्र्याएको जानकारी दिए। उनले शनिबार फेरि नेपालीहरू त्यहाँ जम्मा भएको हुन सक्ने र आइतबार भारतमा सरकारी बिदा भएको जानकारी दिए। आइतबार नेपालतर्फ बैठक बसेको थियो। तर, सोमबार दिउँसोसम्म नेपालीहरू आफ्नो देशमा प्रवेश गर्न पाएका छैनन्।  

सुदूरपश्चिमको पहाडी जिल्लाबाट भारतमा काम गर्न जाने नेपालीको संख्या बढी छ। उनीहरू कोरोनाको डरले र भारत २१ दिन ‘लकडाउन’ हुँदा बेरोजगार हुने सम्भावनाका बीच देश फर्किरहेका छन्। 

‘कति पटक अन्तिम भनेर नाका खुलाउने भइरहेको छ। हामी त्यही पनि प्रयासरत छौं,’ पौडेलले बिएल नेपाली सेवासँग भने। 

भारततर्फ धार्चुलामा रहेको कोतवाली, सशस्त्र सीमा वल हुँदै ९६ किलोमिटर दक्षिणमा रहेको पिथौरागढमा बस्ने डिएम विजयकुमार जोगदण्डेसँग समन्वय भएपछि मात्र नाका खुलाउन सकिन्छ। तर उनीसँग हत्तपत्त सम्पर्क बनाउन सजिलो छैन। उनले पनि भारतको केन्द्रीय सरकारसँग समवन्य बनाउनु पर्ने हुन्छ। 

नाकामा आइपुगेका नेपालीमध्ये अधिकांश दुई दिनदेखि अनिदो र खाना पनि राम्रोसँग पाएका छैनन्। चैत्र १७ देखि हालसम्म दार्चुलाका ९४, बैतडीका २ सय, बझाङका १ सय ५८, कैलालीका ७७, डडेल्धुराका २७ र डोटीका १ जना भारतीय नाकामा फसेका छन्। 
 
 

प्रकाशित मिति: : 2020-03-30 16:21:30

प्रतिकृया दिनुहोस्