काेराेना उपचारका सामग्री ल्याइए गजेन्द्रनारायण अस्पतालमा

रासस

सप्तरी

कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा प्रयोग हुने आवश्यक सामग्री राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइपुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक एवम् स्वास्थ्यकर्मीका लागि पठाएको पिपिई, गाउन, मास्कलगायत सामग्री आएको अस्पतालले जनाएको छ। 

मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले पठाएको २० थान पिपिई , एक सय थान गाउन, पाँच हजार थान मास्क र  पाँच बोतल स्यानिटाइजर प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए। 

डा दासका अनुसार स्वास्थ्य सेवा विभागबाट पठाएको नौ थान पिपिई र चौधरी समूहबाट पठाइएको १५ थान पिपिई  पनि प्राप्त भएको छ। कोरोना परीक्षणसम्बन्धी ‘ल्याब टेक्निसियन’का लागि दुई थान पिपिई पनि प्राप्त भएको छ।
 
यससँगै  अस्पतालमा कुल ४६ थान पिपिई  र एक सय थान गाउन मौजुद रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले बताए। उक्त सामग्री आइसोलेशनमा पठाइएका कोरोनाका आशंका गरिएका बिरामीको उपचारका क्रममा चिकित्सक एवम् स्वास्थ्यकर्मीले प्रयोग गर्ने जनाइएको छ। 

अस्पतालमा उक्त सामग्री उपलब्ध भएपछि स्वास्थ्यकर्मीले सुरक्षित महसुस गरेका छन्। तत्कालका लागि विकल्पका रुपमा ४६ थान वर्षादी, ५० थान कपडाको गाउन, क्याप, गमबुट, चश्मालगायत सामग्री व्यवस्था गरिएको थियो। 

प्रकाशित मिति: : 2020-03-31 12:01:48

प्रतिकृया दिनुहोस्