घरमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून

रासस

खोटाङ

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ। 

जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको छ।

 क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ। गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए। रतन्छास्थित साकेला माविमा निर्माण गरिएको १० श्ययाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको हो।
 

यस्तै यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुईमध्ये एक अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन्। केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसे पनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने होम क्वारेन्टाइन बसेका हुन्। 

उनलाई गत चैत १२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्ने गरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताए। 

नेपालमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेक्रम शुरु भएसँगै जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेमा स्थानीय तहबीच होडबाजी नै चलेको थियो तर विदेशबाट फर्किनेको सङ्ख्या अधिक भए पनि निर्माण गरिएका क्वारेन्टाइनमा राख्नेतर्फ ध्यान गएको छैन। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका कतिपय स्थानीय तहले भर्खरै मात्र विदेशबाट फर्किएका व्यक्तिको लगत सङ्कलनको काम शुरु गरेको पाइएको छ। यसअघिदेखि नै लगत सङ्कलन शुरु गरिएका कतिपय स्थानीय तहमा समेत अहिलेसम्म यकिन तथ्याङ्क जम्मा भइसकेको छैन। 
 

प्रकाशित मिति: : 2020-03-31 12:20:43

प्रतिकृया दिनुहोस्