कोभिड–१९ : एक सय थान पिपीइ खरिद गर्दै बन्दीपुर

रासस

दमौली

सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मी जोखिममा पर्ने अवस्था आएपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) खरिद गर्ने भएको छ। 

कोभिड–१९ को शङ्कास्पद बिरामीको उपचारका लागि स्वास्थ्य सामग्री अभाव भएपछि गाउँपालिकाले पिपीइ, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गर्न लागेको हो।

 गाउँपालिकाले एक सय थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ), दुई हजार थान साधारण मास्क, दुई सय थान एन ९५ मास्क, ४० लिटर स्यानीटाइजर र ३० थान क्वारेन्टाइन शय्या खरिद गर्ने प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। 

'स्वास्थ्यकर्मीलाई पनि सुरक्षित बनाउन र उनीहरुको मनोबल उच्च राख्नका लागि मेडिकल सामग्री खरिद प्रक्रिय अगाडि बढिसकेको छ, छिट्टै गाउँपालिकाले उक्त सामग्रीहरु स्वास्थ्यकर्मीलाई उपलब्ध गराइनेछ' उनले भने। 

कोभिड–१९ का शङ्कास्पद बिरामीको छुट्टै उपचारका लागि बन्दीपुर अस्पतालमा आठ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ भने विदेशबाट फर्किएकालाई निगरानी गर्नका लागि १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ।

बन्दीपुर गाउँपालिकाको वडा नं। १ देखि ६ सम्म क्रमशः ज्योति प्राथमिक विद्यालय, देउराली प्राथमिक विद्यालय, शिव माध्यमिक विद्यालय, रत्नराज्य निम्न माध्यमिक विद्यालय, चन्द्रोदय प्राथमिक विद्यालय र अरुण माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाले जनाएको छ। 

क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई लत्ताकपडा, खाना, खाजा लगायतका आवश्यक सबै प्रकारका सामग्री गाउँपालिकाले उपलब्ध गराउने प्रवक्ता धु्रवप्रसाद लामिछानेले जानकारी दिए। 

सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गाउँपालिकाको छ। जसअनुसार लकडाउन उल्लङ्घन गर्नेलाई रु दश हजार जरिवाना, भलिबल, फुटबल, व्याडमिन्टन खेल्नेलाई रु ५ हजार जरिवाना र जुवातास खेल्नेलाई रु दश हजार जरिवाना गर्ने निर्णय गाउँपालिकाको छ। 

गाउँपालिकाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरण गरी रोकथाम गर्ने उद्देश्य सहित गाउँपालिकाका अध्यक्ष थापाको संयोजकत्वमा गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ, वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेल, २ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, ३ का अध्यक्ष खड्कबहादुर थापा, ४ का अध्यक्ष दानबहादुर थापा, ५ का अध्यक्ष धु्रवप्रसाद लामिछाने, ६ का अध्यक्ष सन्तबहादुर गुरुङ, बन्दीपुर अस्पतालका मेसु डा। डिबी क्षेत्री, प्रहरी सहायक निरीक्षक रामकृष्ण अधिकारी, स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराई सदस्य रहेको कमाण्ड पोष्ट गठन गरेको छ। उक्त पोष्टको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा तोकेका छन्।
 

प्रकाशित मिति: : 2020-03-31 17:38:20

प्रतिकृया दिनुहोस्