रुघाखोकीले सिङ्गो गाउँ प्रभावित

रासस

मार्तडी

यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्।
 
 एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित  हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए।

 परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन्। सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन्। 

कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए। 

प्रकाशित मिति: : 2020-03-31 18:05:46

प्रतिकृया दिनुहोस्