दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक 

रासस

सुर्खेत 

कोभिड–१९ संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन्। 

जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन्। 

गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला  ८ का वडाध्यक्ष सन्तविर रावतले जानकारी दिए।

'यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन्। लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ, वडाध्यक्ष रावतले भने, 'प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ।' गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ। 

उनका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ। नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ। नियम तोडे कारवाही पनि गरिने छ।  लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए।

यसपालि माइती गएनौंँ
कोरोना भाइरसको जोखिमबाट बच्न वर्षेनी चैतेदशँैंमा माइत जाने यहाँका छोरीचेलीसमेत यसपालि माइती गएनन्। तिला ८ जुम्लाकोटकी कमला बुढाले यस वर्षको चैते दशैंँमा माइती नगएको बताइन्। 

 बुढाले भनिन्, 'सरकारले घरमै बस भनेको छ। बाहिर जाँदा जीवन लिने कोरोना सर्छ भनेकोले यस पालिको चैतेदशैंँ माइती नजाने निधो गरेका हौं।' 

सोही वडाकी हरिकला विकले पनि प्रत्येक वर्ष चैतेदशैंँमा माइत जाने र विश्वाँ (चैत्र २०) पर्व मनाउने धोको यस वर्ष पूरा नभएको बताइन्। विकले भनिन्, 'पहिलो हामी सबैको जीवन सुरक्षित हुनुप¥यो। सबै बाँच्नु प¥यो। बाँचेपछि माइती, आफन्त र साथीसंगिनी भेट्ने दिन आउलान् त?'

 गाउँ नजीक अस्पताल नै नभएकाले कसैगरी कोरोनाले छोयो भने के गर्ने होला भनेर चिन्ताले पिरोलेको उनको भनाइ थियो।   कोरोनाबारे दुर्गम गाउँका नागरिकलाई अधिकतम सचेतना दिन गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा नेतृत्वको स्वास्थ्य, सुरक्षा तथा सञ्चारकर्मी पत्रकारको टोली त्यहाँ पुगेको छ। 

पालिकाभरिका नौवटै वडाका गाउँमा पुगेर कोरोनाबारे सचेतना जगाउने र नागरिकलाई कोही कसैसँग घुलमेल नगरी घरमै बस्न गर्न आग्रह गर्ने हेतुले गाउँमा पुगेको उपाध्यक्ष बुढाले बताइन्। लकडाउनपूर्व नै भारतबाट आएका बाहेक दुईजना तेस्रो मुलुकबाट र १२ जना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको उनले बताइन्। 

प्रकाशित मिति: : 2020-04-02 10:15:11

प्रतिकृया दिनुहोस्