पोखरामा विपन्न, अशक्त र अलपत्रलाई राहत दिइने 

रासस

चिप्लेढुङ्गा

पोखरा महानगरपालिकाले राहत वितरणका लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ। 

महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगरकार्यपालिका बैठकले अतिविपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेलगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले बनाएकोे राहत कोषबाट राहत वितरणका लागि लाभग्राही छनोट गर्न मापदण्ड बनाएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।

 कोषमा रु दुई  करोड ४८ लाख ५० हजार छ। नेपालीका अनुसार कुनै आयस्रोत नभएका, दैनिक ज्याला मजदूरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहारसुसार नपाएका (ज्येष्ठ नागरिक असहाय, अशक्त, गर्भवती, दीर्घरोगी,टुहुरा बालबालिका र फरक क्षमता भएका)लाई लाभग्राहीका रुपमा छनोट गरिने छ। 

त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, अलपत्र स्वदेशी तथा विदेशी र धार्मिकस्थलमा भेटचन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीका रुपमा छनोट गरिने मापदण्ड बनाइएको नेपालीले बताए। 

राहत वितरण गर्दा व्यक्तिको परिचय खुल्ने कुनै एउटा कागजपत्र भए हुनेछ। बैठकले महामारी रोकथाम तथा नियन्त्रणका लागि नगर प्रमुख  जिसीको संयोजकत्वमा उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नं ४ का वढाध्यक्ष शंकर बास्तोला, ९ का वडाध्यक्ष रामराज लामिछाने, १३ का वडाध्यक्ष लेखबहादुर तामाङ, वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेल र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेल सदस्य रहेको निर्देशन तथा समन्वय कार्यदल गठन गरेको छ।

प्रकाशित मिति: : 2020-04-02 10:20:14

प्रतिकृया दिनुहोस्