सामाजिक दूरी कायम गरी उपभोग्य वस्तु बिक्रीवितरण

रासस

जुम्ला

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेसँगै बजारमा खाद्य सामग्री तथा ग्याससहित दैनिक उपभोग्य बस्तु बिक्री वितरणमा सामाजिक दूरी कायम गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मानवीय भीड कम गर्न सामाजिक दुरी कायम गर्ने व्यवस्था गरेको हो।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार सुरक्षा समितिको बैठकले प्रहरी प्रशासन र आम नागरिकको सक्रियतामा सामाजिक दुरी कायम गरी बिहान बेलुका दुईदुई घण्टा दैनिक उपभोग्य बस्तु बिक्रीबितरण गर्ने व्यवस्था गरिएको छ। 

बिहान बेलुका सुरक्षाकर्मी परिचालन गरी दैनिक उपभोग्य बस्तु बिक्रीवितरणमा भीडभाड गर्न नदिने र सामान किन्दाबेच्दा व्यापारी उपभोक्तालाई सामाजिक दुरी कायम गर्न लगाएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए।

उनले भने, 'पसलको आगनमा चुना घेरा डेढ मिटरको दुरीमा राख्ने र सोही घेरामा उपभोक्तलाई उभिन लगाएर पालैपालो सामान दिएर पठाउने गरिएको छ।'

जुम्ला बजारमा छिटफुट रुपमा यस अघि हियरकटिङ (कपाल कटाउने पसल) चलिरहेका भएपनि पनि आजदेखि पूर्णरुपमा बन्द गर्न लगाइएको छ। 

प्रहरी नायव उपरीक्षक धामीले भने, 'एक दुई जना आए कपाल काट्ने भएपनि को कस्तो व्यक्ति हो । कोरोना संक्रमित पनि हुन सक्ने आशंका हुने भएकाले बन्द गर्न लगाएको हो।' 

सवारी ‘पास’ वितरण बन्द 

जिल्ला प्रशासन कार्यालयले लकडाउनका समयमा सवारीसाधन चलाउन दिँदै आएको अनुमति अर्थात् ‘पास’ दिन बन्द गरेको छ। 

पासको दुरुपयोग बढेको र लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न कार्यालयले नयाँ पास दिन बन्द गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले पहिला लिएका पास रद्द गरिएको र नयाँ पास पनि वितरण बन्द भएको बताए। 

कार्यालयबाट जारी भइरहेको सबै किसिमको सवारी पास अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको उनले बताए। उनले भने, 'दिनहुँ सवारी पासको माग बढिरहेको तर अत्यावश्यक कामभन्दा सामान्य कामका लागि पास लिन आउनेहरू बढी भएपछि नयाँ पास दिन बन्द गरेको हो।'

 त्यस्तै अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारीसाधनहरु र अत्यावश्यक सेवामा कार्यरत जनशक्ति स्वास्थ्यकर्मी र पत्रकारको आवागमन गर्दा पहिलाको सवारी पासले काम गर्ने उनले बताए।

प्रकाशित मिति: : 2020-04-02 16:38:29

प्रतिकृया दिनुहोस्