एक सिर्जनशील यात्री भोजराजको सत्य वचन :

रानी ऐश्वर्यका नाममा स्कुल खोलियो मोटी दमिनीको जग्गामा

हेमन्त विवश

काठमाडौं

जिन्दगीरूपी यात्रा गर्ने क्रममा घुम्तिमा आइपुग्छन्– कतिपय आँखाहरू। भइदिन्छ– गौड्याभिट्। त्यही गौड्याभिटले नजिक बनाइदिन्छ कतिपय मनहरूलाई जो भावुकता, संवेदना र आत्मीयताले भरिएका हुन्छन्। 

उसो त अराजक लहरहरूको सङ्गम पनि हो जिन्दगी। कहिलेकाहीँ अराजक मनहरूसँग भइदिन्छ चिनाजानी। त्यो चिनाजानी कसैका शब्दसँग मात्र हुन्छ भने कसैसँग प्रत्यक्ष पनि। जिन्दगीको यो मोडसम्म आइपुग्दा कहिले आफूजस्तै स्वभावका मनहरू भेट्टाएँ त कहिल्यै निकै पृथक। यसरी यो यात्रारूपी जिन्दगीको कुनै घुम्तीमा भेटिएका थिए– साहित्यकार भोजराज भट्ट। अझै भन्नुपर्दा उनलाई भेट्नुभन्दा अगाडि ने भेटिएका हुन् उनका भावना बोकेका शब्दहरू। 

धेरै लामो समय भएको छैन उनीसँग चिनाजान भएको। लाग्छ– त्यस्तै नौ–१० वर्ष भयो होला। त्यसमा पनि भेट्घाट नै भएको त जम्मा चार–पाँच पटक होला। फोनमा भलाकुसाली गरेको समय आइदिन्छ कतै सम्झनामा। तर त्यो पनि दुई तीन मिनेटभित्र, हालवात सोधिसकुञ्जेलको समय थियो।

यस हिसाबले म भोजराज भट्टलाई खासै त्यति राम्रोसँग चिन्दिनँ भन्दा अत्युक्ति नहोला। तर, जब उनका प्रकाशित पुस्तकहरूको नाम सम्झिन्छु, उनको लेखाइको पाटो र त्यसभित्रको भाव पक्ष केलाउन थाल्छु अनि भन्न मन लाग्छ हो म भोजराज भट्टलाई राम्ररी चिन्दछु– एक कविका रुपमा।एक कथाकारका रुपमा निबन्धकारका रुपमा अनि नियात्राकारका रुपमा। यतिखेर लकडाउनका कारण म डोटीमा छु– उनले मलाई उपलब्ध गराएका उनका पुस्तकहरू सबै काठमाडौंमै छुटे। त्यसैले ती पुस्तकहरूको बारेमा चर्चा गर्न असमर्थ छु।
उसै पनि म कुनै समालोचक हैन। एक पाठक भएको नाताले यति भन्न सक्छु– उनी संवेदनाले ओतप्रोत भएका जिन्दगीको गणित मिलाउँदै जाने क्रममा पछिल्ला दिनमा अध्यात्मिक जगततिर पनि रुचि राख्न थालेका, कालिदासको यक्षजस्ता प्रेमको वियोगले खिन्न भएका एक गुप्त वियुक्त कवि हुन्, प्रकृतिप्रेमी लेखक हुन्। 

डोटी उनको जन्मभूमि जहाँ बाल्यकालका केही वसन्त बिताए। त्यसपछि कैलालीमा व्यतित भयो उनको उत्तर–वाल्यावस्था। त्यही डोटी र कैलालीको भू–भागको सुगन्ध, त्यतैको संस्कृति, रीतिरिवाज बढी मात्रामा भेटिन्छन् उनका रचनाहरूमा। तल उल्लेख गरिएको प्रचलित डोटेली गीतको भाव पक्षलाई आत्मसात गरिरहेका हुन्छन् उनका भावनाहरूले। जिजकोट रनको गैग्यो कफल्लेकी बाँउको माटी उकेरुकी ठान्दो साई बसेकी ठाउँको मनभरि सम्झनाका पल्ला सजाउँछन् उनी पहाडका डाँडापाखामा गाईभैंसी चराएको, कैलालीको थारू समुदायका दौँतरीबीच केही वर्ष बिताएको। सम्झनामा दरिलो गरेर बसिरहेकै थियो बाल्यकालमै धर्तीबाट बिदा लिएकी आमाको मुहार। तत्पश्चात सम्झनामा सीमित हुन गयो बुवाको मुहार। 

पछिल्लो समयमा प्रेमपूर्ण जिन्दगी बिताइरहेका भट्टको सम्झनामा मात्रै सीमित हुन गयो– जसुदा भाउजूको मुहार। संघर्षरूपी जिन्दगीको गोरेटोमा पाइला बिछ्याउँदै शान्त र सौम्य स्वभावका साथै सरल र मृदुभाषी भट्टको यात्रामा आइरहे उतारचढावहरू। बोकी रहे उनले धैर्यको डोको। दिइरहे जिन्दगीको परीक्षा।

एक दिन काठमाडौंको पुतलीसडकस्थित उनको ल फर्ममा भेट हुँदा मेरो हातमा एउटा खाम थमाएका थिए उनले। कोठामा आएर खोलिहेर्दा त्यसभित्र थियो पाँचसात हरफ जति लेखिएको एउटा कागज। जहाँ लेखिएको एउटा वाक्य थियो– म कहाँनेर छु ? उनको आशय हुनुपर्छ– मित्रहरूले मेरा कमी–कमजोरीदेखि सबल पक्षहरू सबै देखाइदिउन्। अनि साहित्यिक यात्राबारे समीक्षा गरिदिउन्। मृत्युपछाडि धेरैका बारेमा धेरै कवि लेखकहरूले लेखे। ठुल्ठूला पुस्तकहरू प्रकाशित भए। तर, आफू छँदै आफ्नोबारेमा  लेखिमाग्ने काम गरिरहेका छन् अहिले उनी।



मुडेगाउँकाे मायाले डोर्‍याएको मन 

ऐतिहासिक र पुरातात्विक सम्पदाको आँगन: शिखर नगरपालिका 



यसै सिलसिलामा सम्झेका छन्– मलाई पनि। यसरी अग्रजहरूले, मित्रहरूले सम्झिँदिँदा खुशी लाग्छ तर लेख्न नसक्दा दिक्दारी बढ्छ। केही कुरा लेख्नको लागि त्यस विषयमा केही सूचनाहरू सङ्कलित गर्नुपर्ने हुन्छ जुन अभाव छ यतिखेर मसँग। हतियारबिनाको शिकारी वनमा भ्रमण गरिरहेजस्तो म पनि समग्रीबिना, तथ्यबिना, भोजराज भट्टसँगको निकै कम समयको भेटघाटका आधारमा उनको बारेमा लेख्ने दुष्साहस गरिरहेको छु। 

उनले प्रश्न सोधेका छन् –‘म कहाँनेर छु ?’ मसँग उनको प्रश्नको उत्तर त्यति सजिलै दिनसक्ने सामथ्र्य छैन। उनले सोधेको प्रश्न बाहिरबाट हेर्दा जति सामान्य र सरल देखिन्छ त्यति सरल पक्कै पनि होइन। यो आध्यात्मिक क्षेत्रसँग सम्बन्धित प्रश्न हो। जो आफैँले आफैलाई सोध्नु पर्ने प्रश्न पनि हो। यदि आध्यात्मिक हिसाबले सोधेका हुन् भने म भोजराज भट्टलाई कसरी कहाँनिर देखाऊँ जबकि उनी भर्खर आध्यात्मिक जगतको किनारा हेर्न खोज्ने चेष्टा गरिरहेका छन्। यस क्षेत्रसँग सम्बन्धित ग्रन्थहरूको व्यापक अध्ययन गरेका छन्। म त त्यत्तिको पनि छैन।



सम्राटले के जान्दथे विसुँको महत्व 

स्याल कराउने जमानामा लुकेका कस्तुरी 



साहित्यिक हिसाबले भन्नुपर्दा उनको स्थान प्रशंशायोग्य नै छ।  कला, शिल्प, संवेदना र भावका हिसाबले उनी एक गम्भीर प्रवृत्तिका खासै चर्चामा आउन नचाहने लेखक हुन्। उनका .११ वटा कृतिहरू प्रकाशित भइसकेका छन् अरु पाँच–सात वटा प्रकाशनका लागि तयारीमा अवस्थामा छन् जुन संख्यात्मक हिसाबले पनि छोटो समयमा धेरै नै प्रकाशित भए।

यस हिसाबले पनि उनी इष्र्या गर्न लायक छन्। हरेक हिसाबले अब्बल छन्– उनका अनुभव र अनुभूतिका पाइलाहरू। सुन्दर अनि प्रेमिल छन् ठूलाबडा भनाउँदाका नजरमा अराजक देखिएका चेतनाका धर्साहरू।

हाम्रो सामाजिक पाटो र मैले थाहा पाएसम्मका उनका गतिविधिहरू केलाउँदै गर्दा समाज सुधारका लागि अग्रगामी कदम चाल्ने योद्धा नै ठान्छु मैले उनलाई। एक कट्टर बाह्मण परिवारमा जन्मेका उनी त्यस्तै कट्टर संस्कारमा हुर्केका हुन्। सुदूरपश्चिमको त्यतिखेरको परिवेश अनि त्यस्तो कट्टर परिवारबाट एक किसिमको विद्रोह गरे उनले।

त्यो विद्रोह थियो– परिवारका सदस्यहरूको अनुमतिबिना नै सुदूरपूर्वका राईकी छोरीसँगको गहिरो प्रेमलाई विवाहमा परिणत गर्नु। सुदूरपश्चिममा अहिले पनि कर्णालीपारिबाट आफ्नै जातकी कन्या विवाह गर्दासमेत पूर्वेनी ल्याएछ भनिदिन्छन्। घरपरिवार र समाजले भित्रीमनले स्वीकार्न चाहँदैनन्।

उनले त आजभन्दा ३९ वर्षअघि राईकी छोरीसँग विवाह गरी समाजलाई चुनौती दिए। जुन चुनौती भोजराजहरूको समाज रुपान्तरणको कदम पनि थियो। उनले जातपात भन्ने कुरा केही हैन भन्ने सन्देश दिलाए। पेशागत हिसाबले वकील बने। वकालत गरिरहे।



‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा

गौँड्या भेटमा मुसुक्क मुस्कान छोडेर जाने प्रेमिकाजस्तो खप्तड



प्रजातन्त्रका पक्षधर रहेका उनी विद्यालय तहमा पढ्दैगर्दा १२ वर्षकै उमेरमा पञ्चायतको कार्वाहीमा परेछन्। व्यवस्थाविरोधी भएका कारण उनी लगायत उनका चार–पाँच जना साथीहरूलाई विद्यालयमा पढ्दैगर्दाको समयमा अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको आदेशमा पक्राउ गरिएको कुरा सुनाएका थिए कुनै दिन उनले। 
त्यतिखेर उमेर नपुगेका कारण उनलाई एक वर्ष रेस्टिकेट गर्ने निर्णय गरिएछ भने उनका साथीहरूलाई जेल लगिएछ। त्यो उमेरका बच्चालाई गरिएको कार्वाहीले लक्ष्यबहादुरको सामाजिक रुपमा राम्रो छवि बन्न सकेनछ। आफ्नो छवि सुधार्न दुईटा काम गरेछन् गुरुङले। जसमा एउटा काम– अपुताली पर्याे भनेर मोटी दमिनीको जग्गा अपुताली महलअन्तर्गत ल्याई रानी ऐश्वर्यको नाममा ऐश्वर्य विद्यानिकेतन विद्यालय खोली विद्यालयको नाममा दर्ता गरिनु। अर्को हसनपुर क्षेत्रमा चौँडा बाटा खोलिदिनु। 

मोटी दमिनीको कुरा उठ्छ– धनगढीका चोक–चोकमा। पुराना सबैजसोलाई थाहा छ तर भन्दैनन्। कोही पनि बोल्न मान्दैनन्। भोजराज निर्धक्कसँग भन्छन्– अहिलेको एलन चोकस्थित लक्ष्मीनारायण मन्दिरको जग्गा सबै मोटी दमिनीको हो। उनका अनुसार, ऐश्वर्य विद्या निकेतन विद्यालय, कलेज रहेको सम्पूर्ण जमिन तिनै मोटी दमिनीको हो।

उनले ओगटेको जमिनमा सामुदायिक विद्यालय बन्यो। मन्दिर बन्यो। यो निकै राम्रो काम भयो तर आएन तिनको नाम कहिकतै पनि। यो कुरा विभिन्न ठाउँमा समय समयमा आफूले बारम्बार उठाएको बताउँछन् उनी।  समाजका अगुवाहरूले सुने÷नसुनेझैँ गरिदिएपछि खिन्न बने उनी। उनको एउटै मात्र माग थियो मोटी दमिनीको नाम जग्गा–दाताको रुपमा कहीँकतै अभिलेखीकरण गरियोस्। यसबाट सजिलै थाहा हुन्छ– समाजमा सबैले सबैको अस्तित्व स्वीकार्नुपर्छ भन्ने भावना बोकेका छन् भट्टले।

उनी र जसुदा मेडमका बीच चखेवा–चखेवीको झैं प्रेम थियो। मिलेरै प्रेमिल वातावरणमा चलाइरहेका थिए– घरबारी। एकाएक दैवले उनीमाथि बज्र प्रहार गरेपछि उनी एक्ला बने। जसुदा मेडमले धर्तीबाट बिदा लिएसँगै लामो समयसम्म छोडिदिए वकालत गर्न र यताउता निस्किन। केवल चलाइरहे कलम। गरिरहे समय–समयमा यात्रा।



इतिहासमा नलेखिएको मधुवा आउजीले नरसिंहा फुकेको रणमैदान

तमीलाई त किताब मात्र देखाया हुँ, हजुर !



यात्राकै दौरानमा कहिले मानसरोवर त कहिले कैलालीको गोदावरीतिर हिँडिरहे एक्लो यात्रीझैँ बनेर। कोरी रहे अनुभव र अनुभूतिका बुट्टाहरू। सम्झी रहे विगतका दिनहरू। अनि तन्मयताका साथ लागिपरे– कैलालीस्थित गोदावरीमा नेपाल माताको मूर्ति सजाउन। आउने–जाने आध्यात्मिक सोचका संवेदनशील मनहरूलाई बास बस्न मिल्ने घर निर्माण गर्न।

यसरी पछिल्लो समयमा उनी सामाजिक कार्यमा सक्रिय जिन्दगी बिताउन लागिपरेका देखिन्छन्। हरेक दिन पुतलीसडकस्थित अफिसको छतमा परेवालाई चामल र कमिलालाई पीठो छर्किन्छन्। विगतमा जानअन्जान भएका गल्तीको प्रायःश्चित गर्दै भगवान् पुकारीरहे जस्ता पनि देखिन्छ। अनि फुर्सदको समयमा एकोहोरो कलम चलाई साहित्यको क्षेत्रमा योगदान पुर्याइरहेका देखिन्छन्। त्यसैले भन्न मन लाग्छ। भोजराज भट्ट आध्यात्मिक गोरेटो खोजिरहेका छन्। प्रियजनका मनमा बास मागिरहेका छन्। अनि खोजिरहेका छन् जसुदा मेडमलाई आफ्ना सामाजिक र साहित्यिक गतिविधिभित्र।

जीवनको उत्तराद्र्ध सत्कर्ममा लगाउनुपर्ने सोचका साथ लागिपरेका छन् उनी। त्यो सत्कर्म भन्नु नै सामाजिक र आध्यात्मिक गोरेटो हो। त्यही नै जीवनको अनुष्ठान हो। त्यो गोरेटोमा उनका सिर्जनशील पाइला लम्किरहुन। समाजले उनीबाट मार्ग दर्शन पाइरहोस्। कुशल कवि लेखकको सिर्जनशील यात्राका लागि मेरो हार्दिक शुभकामना ! 

(पहिलाे पटक २०७८ साउन १३ गते बुधबार प्रकाशित सामग्री)

प्रकाशित मिति: : 2021-12-07 09:44:00

प्रतिकृया दिनुहोस्